मेरो चाहना

 

अभिषेक पाण्डे


चाहिदैन मलाई खोक्रो राष्ट्रवाद
न चाहिन्छ तिम्रो दया
बाँकी छ भने एक अञ्जुली
भए पुग्छ तिम्रो मानवता !!!

चाहिदैन मलाई आलङ्कारिक आश्वासन
न चाहिन्छ तिम्रो करुणा
बाँकी छ भने एक अंश
भए पुग्छ तिम्रो मानवता !!!!

चाहिदैन मलाई तिम्रो जुठो भाग
न काट्नुनै छ तिम्रो छाक
बाँकी छ भने एक मुठी
भए पुग्छ तिम्रो मानवता !!!!

चाहिदैन मलाई तिम्रो रुढी विकृति
न भिड्नु छ तिम्रो वर्ग संस्कृति
बाँकी छ भने टिलपिल आँच
भए पुग्छ तिम्रो मानवता !!!

चाहिदैन मलाई धेरै
न भर्नु छ भकारी
बाँकी छ भने एक थोपा स्वाभिमान
भए पुग्छ तिम्रो मानवता !!!!

मर्नु त छदै छ एक दिन,
तर,
मार्छ कतै जातले, कतै मार्छ दैवीले,
कतै तातो हावाले त कतै मार्छ भोको पेटले,
कतै आफ्नैले त कतै मार्छ आफ्नै देशले,
अनि कतै आफ्नै विडम्बनाले !!!!

चाहिदैन मलाई केही
बस, एक निमेषको शान्ति देऊ,
पुग्न देऊ मेरै माटोको न्यानो काखमा,
जान देऊ मलाई, मेरै आँगनमा
चिर निद्रामा सुत्न देऊ
आफ्नै आँगनमा फर्कन नसकेर विलाएका
आत्माहरु प्रति समर्पित हुन देऊ !!!!