युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट

 

काठमाडौं । आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा पर्याप्त काम हुन नसक्ने अनुमान गरी बजेटमा कटौती गरिएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन गरेको बताउनुभएको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयका लागि ३ अर्ब ९९ करोड विनियोजना गरिएको थियो । बजेटमा चालु आर्थिक वर्षको भन्दा १ अर्ब ६३ करोड रुपैयाँ कटौैती भएको छ ।

बजेटप्रति राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल भने सन्तुष्ट नभएको पाइएको छ । सिलवालले बजेटलाई मिश्रित रुपमा लिएको बताउनुभएको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीबाट मुक्त भएर खेलजीवनमार्फत मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक असरलाई समेत हेर्नुपर्नेमा अलि यथास्थितिवादी सोचबाट आयो यद्यपि निरासाजनक छैन सिलवालले प्रतिक्रिया दिनुभयो ।

सिलवालले सागका लागि गत वर्ष बजेटमा ५० लाख रुपैयाँ मात्र विनियोजन गरेको स्मरण गर्दै सरकारले चाहेको खण्डमा कार्यक्रम हेरेर पछि बजेट थप गरिदिएकोले सम्भावना हुँदा सहयोग हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

बजेटमार्फत अर्थमन्त्री खतिवडाले भन्नुभएको छ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पुर्वाधार निर्माण र व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु । खेलकुद पुर्वधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्ने गरी खेलकुद पुर्वाधार बिकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्न बजेट व्यवस्था गरेको छु । युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छु ।