“मार्क्स तिमी आई देऊ एकपटक”

 

प्रेमलकुमार खनाल


तिमीले छरिदिएकाे प्रकाशपुन्जमा
दुःख कष्ट गरेर अग्रजहरुले
निर्माण गरेकाे त्यहीं जगले
आजसम्म हामी रहन पाएका छौ,
कैयौंपटक हावाहुरी आयाे
अहं त्यो जग हलिएन
झन झन स्पातिलाे बन्दै गयाे,

,काेटी काेटी मानिसहरु
त्याे प्रकाशपुन्जकाे स्पर्श गर्दै
लामबन्द बनेर अगाडि बढदै जांदा
त्याे भीमकाय युद्ध जितेर
अहिले एउटा नयाँ ग्राममा आईपुगेका छन् ,

बिजयकाे निशानीछाप पनि लागि सकेकाेछ
र अर्काे लंडाई लडनलाई
तर यहाँ सम्म आईपुग्दा
कति मानिस थाके जस्ताे
कतिचांही अब यहीं नै हाे अन्तिम यात्रा भनेझैं
ऐस आराम र बिलासिताकाे जीवन जिउँदैछन,

तिमीले त वर्गकाे कुरा गरेका थियौं
तर यहाँको भिडमा छुट्याउन गाह्रो भयाे
तिमीले बर्गसंघर्षकाे कुरा गरेका थियौं
तर यहाँ वर्गसमन्वयकाे व्यबहार भईरहेकाेछ
तिमीले श्रमकाे उचित मुल्यकाे कुरा गरेका थियौं
तर यहाँ जीवन गुजारा गर्न गाहृाे भयाे
तिमीले गरिखाने वर्गकाे नायकत्वकाे कुरा गरेका थियौँ
तर यहाँ त उनीहरु भाेटबैक झै बनेकाछन्
लाग्दछ उनीहरु अब सदैब भाेटबैककै रुपमा हुनेछन्
तिमीले सामाजिक न्यायकाे कुरा गरेका थियौँ
तर यहाँ वर्ग अन्तरकाे डरलाग्दो खाडल बनेकाेछ
तिमीले पुर्ण लाेकतन्त्रकाे कुरा गरेका थियौँ
यहाँ त देखांउने दांत जस्ताे भएकाेछ
तिमीले न्याय समानताकाे कुरा गरेका थियौ
यहाँ त गुटबाद,नाताबाद र परिबारबाद पाे हावी हुदैछ

खाेई के हाे केहाे?
तिमीले भनेकाे कुरा र अग्रजहरुले बलिदान गरेकाे
त्याे प्रेरणा,साैर्यसाहस र बलिदानकाे
रक्षा गरेर अगाडि बढनलाई गाहृाे भए जस्ताे भयाे,

त्यसैले, तिमी आईदेऊ एकपटक
यहीँ हाे अन्तिम गन्तव्य भनेर
ती मस्ता निदाएकाहरु,
निदाएजस्ताे स्वाङ गर्नेहरुलाई
भनी दिनुछ, गन्तव्य अझै टाढा छ भनेर
त्यसैले मार्क्स आईदेऊ एकपटक
अझै तेजीलाे प्रकाशपुन्ज लिएर ।।

२० मे, २०२०, लकडाउनकाे ५७ ओं दिन
मार्क्सकाे २०२ ओं जन्म जयन्तीका सन्दर्भमा