साना तथा घरेलु उद्योगमा बढी मुनाफा : आर्थिक सर्वेक्षण

 

काठमाडौँ —विश्वव्यापी कोरोना भाइरसको संक्रणका कारण आर्थिक क्रियाकलाप ठप्प र निरासाजनक भईरहेको बेला नेपाली अर्थतन्त्रको एउटा सर्वेक्षणले आशा जगाएको छ । धेरै मात्रामा रहेका स्वरोजगारमूलक र समुदायमा आधारित उद्योगधन्दाहरुमा देखिएको राम्रो मुनाफाको समाचारले सकारात्मक प्रभाव पार्ने देखिन्छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय अर्थतन्त्रमा साना तथा घरेलु उद्योगको मुनाफा बढी रहेको आशाजनक नतिजा सार्वजनिक गरेको छ । विभागले ०७५ वैशाखमा गरेको आर्थिक सर्वेक्षणको अन्तिम नतिजाले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

लघु र साना व्यवसायको औसत वार्षिक नाफा ३४.६ रहेको पाइएको छ । मझौला उद्यमको औसत वार्षिक नाफा ३१ प्रतिशत र ठूला उद्योगको वार्षिक औसत नाफा २१.४ प्रतिशत रहेको अध्ययनको निष्कर्ष छ । विभागले नेपालभरका ९ लाख ९ सय २४ वटा व्यवसायमाझ गरेको सर्वेक्षणका आधारमा यस्तो निष्कर्ष निकालिएको हो । नेपालभर रहेका यी उद्यमले २९ खर्ब १५ अर्ब ६० करोड बराबरको सेवा तथा वस्तु बिक्री गरेको सर्वेक्षणले देखाएको छ । यो परिमाणमा सेवा तथा वस्तु बिक्रीबापत यी उद्यमले कुल ८ खर्ब ५३ अर्ब २१ करोड नाफा गरेको तथ्यांक छ ।

विभागका अनुसार १ देखि ९ जनासम्म संलग्न उद्यमलाई लघु, १० देखि ४९ व्यक्ति संलग्न साना, ५० देखि ९९ जनासम्म संलग्न व्यवसाय मझौला र सय जनाभन्दा बढी संलग्न व्यवसायलाई ठूलो भनी व्याख्या गरिएको हो । एउटा लघु उद्यमले वार्षिक १० लाख ८४ हजारको सेवा तथा उत्पादन बिक्री गर्ने गरेको सर्वेक्षणले देखाएको छ । यो परिमाणको बिक्रीबापत ती उद्यमले वार्षिक ३ लाख ७५ हजार नाफा गर्ने गरेको अध्ययनले देखाएको छ ।