कोरोना प्रभावले ह्वात्तै घट्यो बिजुलीको माग

 

काठमाडौँ, १४ चैत । मुलुक लकडाउनमा गएपछि आर्थिक गतिविधि ठप्प छन् । यतिखेर विद्युत् माग ह्वात्तै घटेको छ । विद्युत् उत्पादन १३ सय मेगावाटभन्दा माथि छ भने खपत यति बेला ६२५ मेगावाटको हाराहारीमा छ । विद्युत् प्राधिकरणका निर्देशक प्रवल अधिकारीका अनुसार लकडाउनपछि विद्युत् प्रणालीमा उच्चतम माग (पिक डिमान्ड) ९०० मेगावाट छ ।
त्यो पनि राति जम्माजम्मी २५ मिनेटका लागि मात्र हो । दिनभर सामान्यतः माग ६२५ मेगावाटको हाराहारीमा छ । देशभर रातिको माग जम्मा ४०० मेगावाट छ भने उपत्यकाको माग पनि निकै झरेको छ ।

लकडाउनअघि काठमाडौं उपत्यकाको सामान्य माग दैनिक ४५० मेगावाट हुन्थ्यो । यो माग पनि आधा घण्टाका लागि मात्र हो । त्यसपछि रातमा उपत्यकाको माग जम्मा १४० मेगावाट रहेको अधिकारीले जानकारी दिए । लकडाउनको भोलिपल्ट बुधबारसम्म भारतबाट २७९ मेगावाट बिजुली आयात हुँदै आएको थियो ।

‘आजदेखि भारतबाट पनि ५० मेगावाट (पिक आवरका लागि) आयात हुँदै छ, त्यो पनि जम्मा २५ मिनेटका लागि’, अधिकारीले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।