सार्क राष्ट्रबीच कोरोना विरुद्ध लड्ने सहकार्यमा प्रधानमन्त्री ओली सक्रिय

 

काठमाडौँ, ७ चैत । सार्क राष्ट्रबीच कोभिड–१९ विरुद्ध लड्ने बाचा कार्यान्वयन गर्न सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन् । गत आइतबार सार्कका राष्ट्र एवम् सरकार प्रमुखले भिडियो कन्फरेन्समार्फत कोभिड–१९ विरुद्ध लड्ने बाचा गरेका थिए ।
राष्ट्र एवं सरकार प्रमुखले सहकार्यको बाचा गरेको एक साता पुग्नै लाग्दा पनि कुनै तयारी अघि नबढेपछि प्रधानमन्त्री ओली सक्रिय भएका हुन् । उनले यसको तयारीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग जानकारी मागेका छन् ।

छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको यो युद्ध सँगै लडेर दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सबैले सहकार्य गर्ने बाचा गरेका थिए । भिडियो कन्फरेन्सपछि परराष्ट्र सचिव स्तरमा लगातार छलफल गर्ने भनिएको थियो । तर यसबारे कुनै कार्य अघि बढ्न सकेको छैन । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।