इटालीमा कोरोनाबाट एकै दिनमा ४७५ को ज्यान गयो

 

एजेन्सी, ६ चैत । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस (कोभिड १९) कारण मृत्यु हुनेको संख्या इटालीमा एकै दिनमा ४७५ जनाको ज्यान गएको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै मृत्यु हुनेमा इटाली नै पर्छ । पछिल्लो केही दिनयत इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ३ सयभन्दा बढीको मृत्यु हुने गरेको छ ।
इटालीमा पछिल्लो २४ घण्टामै ४७५को मृत्यु भएको छ भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार पनि इटालीमा ३४५ जनाको मृत्यु भएको थियो भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको थियो । हालसम्म इटालीमा ३५ हजार ७ सयभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ४ हजार २५ जना निको भएका छन् । अहिले इटालीमा २८ हजार ७१० जनामा कोरोना संक्रमित छन् भने २ हजार २५७ जनामा गम्भीर अवस्थामा रहेका छन् ।

कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म चीनमा ३ हजार २३७ को मृत्यु भएको छ भने इटालीमा २ हजार ९७९ जनाको मृत्यु भएको छ । चीनमा भने हालसम्म ८० हजार ८९४ संक्रमित भए पनि अहिले ८ हजार ४३ जना मात्रै कोरोना संक्रमित छन् । ६९ हजार ६१४ जना भने पूर्ण रुपमा निको भइसकेका छन् ।

चीनको हुवानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको १६५ देशमा फैलिएको छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर ८ हजार ९४४ जनाको मृत्यु भइसकेको छ । दुई लाख लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ८४ हजार तीन सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् ।