विषादी, शहरिया जीवनशैली र खानपानले क्यान्सर भयावह रुपमा बढिरहेको छः डा.सोनिया

 

नसर्ने रोगहरुका कारण मृत्युको मुखमा पुग्ने विरामीहरुको संख्यामा क्यान्सर निकै अग्रपंक्तिमा रहेको रोग हो । विभिन्न किसिमका क्यान्सरहरुका कारण दैनिक अस्पतालहरुमा चाप बढिरहेको छ भने उपचारको सहायतका लागि सामाजिक सञ्जाल तथा विभिन्न अभियानहरु संचालन भईरहेको पनि देखेभोगेका छौं । क्यान्सर कसरी लाग्छ, कारण, रोकथाम, उपचार लगायतका विषयमा बीर अस्पताल काठमाडौंमा कार्यरत डीएम मेडिकल अंकोलोजिष्ट डा.सोनिया दुलालसंगको कुराकानी प्रस्तुत गरेका छौं ।उहाले बरिष्ट मेडिकल अन्कोलोजिस्ट प्रा डा विश्नु दत्त पौडेल र हाल अमेरिकामा रहनु भयेका प्रा डा प्रकाश न्यौपानेको नेत्रित्वमा काठमाडौं को बीर अस्पताल बाट अध्ययन पुरा गर्नु भएको हो ।  हो

DR. Soniya dulalअहिले क्यान्सर भयावह समस्याको रुपमा छ, आम मान्छेले कसरी बुझ्ने क्यान्सरलाई ?

आम मान्छे त क्यान्सर भन्नासाथ आत्तिने, जिन्दगी सक्कियो भन्ने अवस्थामै हुनुहुन्छ । क्यान्सर भनेको बुढो उमेरमा हुने, रक्सी चुरोट वा धुम्रपान गर्नेलाई मात्रै हुने रोग हो भन्ने मनोविज्ञान छ । बच्चा वा कम उमेरमा गाँठागुठी आयो भने वा अरु केही समस्या देखियो भने क्यान्सर भन्दा क्षयरोग वा अरु कुनै रोग हो कि भन्ने अनुमान पनि गरिन्छ । तर त्यसो होइन। आम मान्छेको कुरा मात्र नभै हामी स्वास्थ्य क्षेत्रका विशेषज्ञहरु पनि सबैलाई यो थाहा नहुन सक्छ । म आफैं इन्टरनल मेडिसिन, एमडी हुञ्जेल पनि क्यान्सर बिषयमा पर्याप्त थाहा थिएन । जनरल फिजिसियनको रुपमा हुँदा क्यान्सरको विषयमा हामी पनि अन्यौलमै हुन्थ्यौं । क्यान्सर विशेषज्ञ नै भएपछि यो रोगले पनि उमेर, वर्ग केही हेर्दैन र धुम्रपान, माधक पदार्थ सेवन बाट मात्र नभइ, बदलिदो जीवन शैलि, जेनेटिक म्युटेसन “जिनमा परिवर्तन” रसायन, विकिरण, प्रदुषण, संक्र्मण, मोटोपन आदि पनि क्यान्सर रोग को कारक तत्व हुन र सुरु अवस्थामै रोगको पहिचान गर्न सके क्यान्सर पनि निको हुन सक्छ भनेर बुझाउने गरेको छु ।

क्यान्सरका चरण र उपचारको प्रभावकारीता कस्तो हुन्छ ?

यो क्षेत्रले उपचार को बिषयमा निकै फड्को मारिसकेको छ। क्यान्सर लागेपछि चौथो चरणमा पुगेका विरामीहरुको उपचार असम्भव हुन्छ भन्ने आम बुझाई हुन्छ । मेडिकल क्षेत्रमै पनि त्यस्तो भनिएको पाइन्छ । तर आम रुपमा त्यस्तो हैन । एउटै अंगको क्यान्सर छ भने विरामी अनुसार निको हुने सम्भावना, समय र उपचारको प्रभावकारीतामा फरक पर्छ । एकजनालाई पेटको क्यान्सर जति समयमा ठिक भयो, पेटकै क्यान्सर भन्दैमा अर्कोलाई पनि त्यति समयमा ठिक नहुन सक्छ । चौथो स्टेजमा पुगेको विरामी मा पनि रोगको प्रकार अनुसार विभिन्न पद्द्ति द्वारा प्रेसर, सुगर जस्ता रोग जस्तै गरि लामो समय सम्म नियन्त्र्ण्मा राख्न सकिन्छयो कुरा पनि मैले क्यान्सर बिषय अध्य्यन गर्ने क्रममा अनुभव र अध्य्यन बाटै थाहा पाएँ । सुरुको स्टेजमा भए काटेर फ्याँक्न मिल्ने र केमो थेरापी पनि गर्न नपर्ने हुन सक्छ,। एउटै क्यान्सर एउटै स्टेजमा भएको अवस्थामा कोहीलाई निको हुने कोहीलाई तत्कालै बचाउन नसकिने अवस्था पनि हुने गर्दछ । यो मानिसको जेनेटिक भेरिएसन (जिन)अनुसार भिन्न हुन्छ ।

क्यान्सर लाग्ने कारणहरुमध्य रसायन बाट कसरी हुन सक्छ, केहि बताइदिनु हुन्छ कि ?

क्यान्सर चुरोट खैनी सुर्ती, रक्सी, संक्र्मण, बदलिदो जीवन शैलि आदिका कारणले मात्रै नभएर कृषिमा हुने रासायनिक तत्व तथा किटनाशक पदार्थ, जंक फुड लगायत पनि कारक हो । यो खानामा यिनै तत्व भएका कारण यो रोग लाग्न सक्छ भन्ने किटान गर्ने तथ्यको अनुसन्धान भएको डाटा त छैन । हामीकहाँ त्यस्तो अध्ययन नभए पनि विदेशमा भएका अध्ययनहरुले यसको पुष्टि गरेको छ । क्यान्सर गराउन सक्ने रासायनिक तत्वलाई विशेषतः ३ भागमा बाँड्न सकिन्छ । एउटा रासायनिक फर्टिलाइजर, अर्को कीट्नासक अनि अर्को ज्नंक फुड ।। हामीकहाँ बढ्दो जनसंख्या, सीमित श्रमिक वर्ग र सीमित जमीनको कारण रासायनिक मल तथा विषादीहरु प्रयोग गरेर प्रतिष्पर्धि बजारका लागि तरकारी, फलफूल तथा खाद्यान्न उत्पादन गर्ने गरिन्छ । बेमौसमी तरकारी फलफूल तथा अन्य उत्पादनका लागि कृषिमा प्रयोग हुने मल तथा विषादीको प्रयोगले क्यान्सर बढाउन सक्ने अनुमान गर्न सकिन्छ । अध्ययनले के भन्छ भने यो रसायनमा मुख्य रुपमा हुने पोटासियम, फस्फोरस र नाइट्रोजन हुन् । माटोका लागि अत्यावश्यक र उत्पादन बढाउन बढी मात्रामा चाहिने नाइट्रोजन हो । यो सन्तुलित रुपमा मात्रै प्रयोग भएको खण्डमा साइड इफेक्ट कम नै हुन्छ तर धेरै मात्रामा प्रयोग हुँदा यसको साइड इफेक्ट धेरै हुन्छ । यो नाइट्रोजन माटोबाट भूमीगत पानीका स्रोत तथा नजिकको कुलो, खोला एवम् पानीका स्रोतमा पुग्छ । धेरै खेती भएको ठाउँहरुमा त पानीका अनेक स्रोतहरु जहाँतहिँ नाइट्रोजनको मात्रा सजिलै पानीमा मिसिइरहेको हुन्छ । बढी उब्जनी गर्नका लागि तराइका धानखेत तथा व्यावसायिक खेती भएका आसपासमा प्रयोग भएको नाइट्रोजनका कारण माछा तथा पानीमा भएका किराहरु मरेको त हामीले देखेका छौं नि । अमेरिकामा भएको रिसर्चले देखाएको छ नाइट्रोजन चैं केमिकल रियाक्सन भएर नाइट्राइटमा परिणत हुन्छ र त्यो नाइट्राइट चै क्यान्सरको एक कारक हो । नाइट्राइटको चैं क्यान्सरसंग डाइरेक्ट लिंक छ । रिसर्चले पुष्टि गरेको तथ्य हो । त्यो पानी नै हामीले प्रयोग गर्छौ । हामीले प्रयोग गर्ने पानी कुन अवस्थामा छ कमैले मात्रै परीक्षण गरेर प्रयोग गर्छौं । फेरि एकैदिन असर देखिईहाल्ने पनि हैन । विस्तारै प्रभाव देखिने भएकाले हामीले थाहै नपाई पानीबाट यसरी क्यान्सर भित्रिईरहेको छ । यस्तो पानीले थाइरोइडको क्यान्सर तीन गुणा बढाउँछ भनेर युरोपियनहरुको अध्ययनले भनेको छ । महिलाहरुमा हुने पाठेघरको क्यान्सर, मुत्रथैलीको क्यान्सर लगायत पेट र आन्द्राको क्यान्सरहरु बढाउँछ भन्ने छ। अर्को त्यो माटोबाट उब्जेको फलफूल, तरकारी तथा अन्य कृषि उपजहरु पनि कारक हुन सक्छ् । टोलटोलमा भेटिने रहरलाग्दा बेमौसमी तरकारी तथा फलफूल पनि यही नाइट्रोजनयुक्त माटोबाट उत्पादन भएका हुन सक्छ्न् र यिनीहरुमा क्याल्सियम जिंक आदिको सन्तुलित मात्रा हुँदैन यस्तो खानेकुराहरु पनि क्यान्सरका कारक हुन सक्छ्न् भनेर अनुमान गर्न सकिन्छ । तर नेपालमा हामी संग डाटा छैन ।

बच्चाहरुमै देखिने क्यान्सरको बढी कारक यस्ता खानेकुराहरु हुन ?

विशेष गरी खाद्य पदार्थमा हुनुपर्ने तत्वहरुको सन्तुलन नभएको अवस्था लामो समयसम्म निरन्तर भएपछि एउटा स्याचुरेसन पिरियडमा पुगेपछि त्यसको असर अनेक रुपमा देखिन्छ र्।े, कतिपय यस्ता खेतीयोग्य जग्गाको नजिक बसोबास गर्नेहरुले प्रयोग गर्ने पानीमा आर्सेनिक तत्व धेरै पाइन्छ । आर्सेनिक पनि क्यान्सर गराउने तत्वको रुपमा लिइन्छ । तसर्थ, अहिलेको बदलिदो जीवन शैलि, अनि ज्नंक फुड हरु पनि कारक तत्व हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कृषिमा प्रयोग गरिने विषादीको प्रभाव कस्तो छ त ?

विषादीको प्रयोग कृषिमा गरिने किराहरु मार्नका लागि हो । जैविक र कृषिमा आवश्यक किराहरु मर्नुले आवश्यक तत्वहरु पनि मरिरहेको हुन्छ । किटनाशक औषधिमा २९० वटा केमिकल्सहरु हुने अध्ययनले देखाएको छ । त्यसमा पनि ८ वटा केमिकलले डाइरेक्ट क्यान्सर गराउँछ भन्ने पाइएको छ । त्यो ८ वटा केमिकलले आन्द्रा, पेट, पिसावथैली,पाठेघर, ब्रेष्ट, थाइरोइड, फोक्सो र स्तनको क्यान्सर का साथै ब्लड क्यान्सर आदि हुने गरेको पाइन्छ ।। यि मध्य ब्लड क्यान्सर चैं बच्चाहरुमा धेरै देखिन्छन

अहिले क्यान्सरको विरामीको चापलाई रोक्न के गर्न सकिन्छ ?

अहिले म आफैंले देखेको अवस्थाले पनि सानो सानो उमेरमा पेटको आन्द्राको, हड्डी र मान्स्पेशि लगायत ब्लड क्यान्सरहरु धेरै देखिइरहेको छ । पहिलापहिला आन्द्राको पेटको क्यान्सर ६० वर्षको उमेरकाहरुलाई लागेको देखिन्थ्यो अहिले त १२ वर्ष १४ वर्षको बच्चाहरुलाई क्यान्सर लागिरहेको छ ।। यो कसरी भईरहेको छ भन्नको लागि कारण पत्ता लगाउन पर्यो त्यसको लागि पर्याप्त अनुसन्धान नै हुन जरुरी छ । कान्ति वाल अस्पतालमा मेरो पोष्टिंग हुँदा आउने बच्चाहरु प्रायः टोखा क्षेत्रका थिए । त्यो बेला बच्चाहरुमा क्यान्सर देखिँदा अध्ययनले पुष्टि गरेको तथ्यहरु नभए पनि त्यहाँ कृषिमा प्रयोग भएको मल विषादी र त्यसैसंग जोडिएको हावापानी, वातावरण र खानपान आदि कारक भएको हुन सक्ने देखिएको थियो । टोखाबाट आउनेमा धेरै ल्युकेमिया (रगत सम्बन्धि क्यान्सर) र पाँचखालबाट आएका विरामीमा छाला र प्रोस्टेट सम्बन्धि क्यान्सर धेरै देखिएको थियो तर हामी संग डाटा छैन। कारण पत्ता लगाएर त्यसबाट जोगिनका लागि अभीमूखीकरण जगाउने र प्रभावकारी रोकथामका कदमहरु चाल्नु नै रोक्ने उपायहरु हो । त्यसबाहेक समयसमयमा परीक्षण गराउने जबकि रोग भए पनि सुरुकै अवस्थामा पत्ता लगाउन सके उपचार सम्भव छ । निको पार्न सकिन्छ । रोग लागिहाले पनि म निके हुन सक्छु भन्ने मनोवलले पनि अधिकांश रोगहरुलाई जित्ने शक्ति मिल्छ । क्यान्सरलाई मनोवलकै कारण जितेका थुप्रै उदाहरणहरु पनि छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरु अवलम्बन गर्नुपर्छ ।

वालवालिकामा क्यान्सर धेरै देखिनुको अरु कारण पनि छ कि ?

अभिभावकको व्यस्त दैनिकीका कारण बच्चाहरु तयारी खानेकुरा, जंक फुड, कलर गरिएका प्लाष्टिकमा राखिएका खानेकुरा, क्यान फुडहरुमा आश्रित भईरहेका छन् । खानपान र रहनसहनको वेष्टर्न कल्चर भित्र्याईरहेका छौं नि यो क्यान्सरको कारक हुन सक्छ । । अर्को कुरा अहिलेका बच्चा घरभित्रै र मोवाइल तथा ग्याजेटसंग खेल्छन् । प्रकृतिसंग खेल्न नपाएका बच्चाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ त्यसकारण पनि बच्चाहरु क्यान्सरको बढी आक्रमणमा परिरहेका हुनसक्ने अनुमान गर्न सकिन्छ् ।

नसर्ने रोग अझै क्यान्सरको विषयमा अध्ययन, रोकथाम र उपचारमा राज्यको ध्यान कस्तो पाउनुभएको छ ?

स्तनको, पाठेघरको क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रमहरु त भईरहेका छन् । शिविरहरु पनि भईरहेका छन् । क्यान्सरको विरामीको लागि सरकारले एक लाख रुपैयाँ छुट्याएको छ । त्यो पर्याप्त त हैन तर नहुनुभन्दा न्युन मात्रामा राहत मिलेको छ। कानुनी रुपमा पनि सरकारले नियन्त्रणमुखी कार्यक्रम गरेको पाइन्छे । सुर्तीजन्य पदार्थको विक्रीवितरण तथा रोकथाम सम्बन्धि कानुन बनाएको छ । प्लाष्टिकको प्रयोग रोक्ने, फोहोरमैला व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्था पनि छ । इन्टिग्रेटेड पेस्टिसाइड म्यानेज्मेन्ट (आइपीएम)को कार्यान्वयन सम्बन्धि कानुनी व्यवस्था पनि छ । जैविक विषादीको उत्पादनले रासायिक मल विषादीको विस्थापनको योजना पनि भईरहेको छ तर यी सबै कामको प्रभावकारीताको तुलनामा धेरै गतीमा रोगको बृद्धि भईरहेको छ जुन भयावह छ । यस सम्बन्धि सरकार अनि जनमानसको ध्यनाकर्षण गर्न चाहन्छु ।