रहेनन् भारतीय नेता डीपी त्रिपाठी

 

काठमाडौं, १७ पुस । लामो समयदेखि अस्वस्थ रहेका नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा बिहीबार बिहान नयाँदिल्लीमा निधन भएको छ ।

उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले भारतले नेपालमा गरेको नाका बन्दीको खुलेर विरोध गरेका थिए । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता समेत रहेका उनले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गराउन भूमिका खेलेको बताइन्छ ।

प्रतिनिधिसभा पुनःस्थापनालगत्तै उनी नेपाल आएका थिए । पहिलो जनआन्दोलनताका पनि राजीव गान्धीको दूतको रुपमा पनि उनी नेपाल आएका थिए । त्यतिबेला उनले नेपालमा पञ्चायती शासन अन्त्य हुने भविष्यवाणी गरेका थिए ।

त्रिपाठीले ‘नेपाल ट्रान्जिसन एवे फरवार्ड’लगायतका धेरै किताबसमेत लेखेका छन् ।

राजीव गान्धीको प्रिय भए पनि सोनिया गान्धीसँग मत नमिलेपछि उनले कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टीमा लागेका थिए ।