पुस १० गते सूर्यग्रहण, यस्तो छ ग्रहणको शुभ अशुभ फल

 

आगामी साता अर्थात पुषको १० गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ । भारतको दक्षिण क्षेत्रसहित विभिन्न स्थानबाट ‘रिङ अफ फायर’को रुपमा देखिने यो ग्रहण अत्यधिक हुँदा काठमाडौंबाट भने करिब आधा सूर्य चन्द्रमाले ढाकिएको देखिनेछ।

पुस १० गते बिहान ८ बजेर २२ मिनेट जाँदा सुरु हुने सूर्यग्रहण ११ बजेर ३१ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम भएको समयमा काठमाडौंबाट ४८ प्रतिशत सूर्य कालो देखिनेछ।

पश्चिम नेपालबाट त्यो ५१ प्रतिशत हुनेछ। सूर्यग्रहण २ घण्टा ४७ मिनेट ५० सेकेन्ड लाग्नेछ भने १० बजेर १ मिनेटमा मध्य हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

साउदी अरब, कतार, भारत, इन्डोनेसिया, गुआम र फिलिपिन्सबाट ‘रिङ अफ फायर’ देखिनेछ। जसमा पूरै चन्द्र पूरै सूर्य्भित्र भए पनि सूर्य नढाकिने र वरिपरि प्रकाश देखिने बताएको छ।

चन्द्रमा पृथ्वीको कक्षमा परिक्रमा गर्दा सबैभन्दा पर शिरविन्दु (एपोजी)मा पुगेको केही दिनपछि सूर्यग्रहण लाग्न लागेको हो। त्यस समयमा आकाशमा चन्द्रको आकार सूर्यभन्दा सानो भएको हुन्छ।

यसको अर्थ चन्द्रले पूरै सूर्यलाई ढाकेको पृथ्वीबाट देखिँदैन जसका कारण ग्रहण लागेको बेला पृथ्वीबाट सूर्यको परिधि निकै चम्किलो प्रकाश देखिनेछ।

चिकित्सक तथा खगोलशास्त्रीहरुले नाङ्गो आँखाले ग्रहण नहेर्न सचेत गराएका छन्। नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्नेछ।

सूर्यग्रहण हेर्नका लागि विशेष प्रकारको सुरक्षित चश्मा लगाउनुपर्ने उनीहरुले बताएका छन्। ज्योतिषहरुले भने विशेष प्रकारको चश्मा लगाएर भए पनि निश्चित राशीका मानिसहरुले भने ग्रहण हेर्न नहुने बताएका छन् ।
ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभई नवग्रहको असिम कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यस खण्डग्रास सूर्यग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई रोक्ने सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।

यसपटकको खण्डग्रास सूर्यग्रहण मूल नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म मूल नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै मूल क्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी मूल नक्षत्रमा जन्म भएका, धनु राशि र धनु लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ ।
मेष : मानहानी हुने
वृष : कष्ट हुने
मिथुन : स्त्रीपीडा हुने
कर्कट : सुख मिल्ने
सिंह : चिन्ता बढ्ने
कन्या : व्यथा बढ्ने
तुला : श्रीस् प्राप्ति हुने
बृश्चिक : क्षति हुने
धनु : घात हुने
मकर : खर्च बढ्ने
कुम्भ : लाभ हुने
मीन : सुखदायी हुने