त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् ।

लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिशूली नदीमा नदीजन्य पदार्थ उत्खनननले गर्दा बाह्रै महीना धमिलो हुने गरेको छ, नदीभित्रै मेसिन प्रयोग गरिन्छ, जसले धार परिवर्तन भई नदीको सौंन्दर्य घट्ने र जलयात्राका लागि खतरा बढ्छ । बजारबाट निस्कने फोहर सिधै त्रिशूलीमा फ्याँक्ने गरिन्छ, विदेशी पर्यटक फोहर देखेपछि जलयात्रा गर्न रुचाउँदैनन् ।”

ठकुरीका अनुसार त्रिशूली नदीमा जलयात्रा गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । नौ वर्षदेखि जलयात्रा गाइडको काम गर्दै आउनुभएका चितवनको इच्छाकामनाका मिलन गुरुङ पनि जथाभावी उत्खनन र फोहर फ्याँक्ने गर्दा त्रिशूली नदीमा जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुहुन्छ । जलयात्रासँग सम्बन्धित विभिन्न सङ्घसंस्था र व्यवसायीले कहीलेकाहीँ गर्ने सरसफाइले मात्र नदी सफा नहुनेको उहाँको भनाइ छ । पृथ्वीराजमार्ग आसपास रहेका बजारबाट निस्कने फोहर दैनिक त्रिशूली नदीमा फ्याँक्ने गरिएको छ ।

नेपालका करीब छ हजार नदीनालामध्ये त्रिशूली, भोटेकोशी, कर्णाली, कालीगण्डकी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुला गरिएको छ । त्रिशूली नदी काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।

व्यवसायी कमल ठकुरीका अनुसार त्रिशूली नदीको मध्यभाग धादिङको बेनीघाट रोराङ गाउँपालिका चारौँदीदेखि चितवनको इच्छाकामनास्थित कुरिनटारसम्म जलयात्राका लागि उत्कृष्ट रहेको छ । सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सय पर्यटकीय स्थानमध्ये त्रिशूली नदीलाई पनि समेटेको छ । गर्मी मौसम शुरु भएसँगै त्रिशूली नदीमा वर्षेनी लाखौँ स्वदेशी तथा विदेशी पर्यटकले जलयात्रा गर्छन् । रासस

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*