ललितपुर । ०६४ को संविधानसभा निर्वाचनमार्फत बनेको संसदको सबैभन्दा कान्छा सभासद् राजकाजी महर्जन अहिले युवाहरुलाई नेवारी मातृ भाषा र संस्कृति संरक्षणमा जगाउँदै हुनुहुन्छ । हरेक साँझ सुनाकोठीका युवा पुस्तालाई संगठित गर्दै आफ्नो कला र संस्कृतिमा रुची बढाउन र संस्कृति जोगाउन बजेट सहित आफैं दिनरात जुट्नुभएको छ । हाल ३ नं प्रदेश सभा सांसद समेत रहनुभएका महर्जनले आइतबार सुनाकोठीका स्थानीय युवाहरुलाई धिमे बाजा सेट उपलब्ध गराउनुभएको छ भने युवाहरुसंगै आफूले पनि धिमे बाजा बजाउँदै स्थानीय युवाहरुलाई उत्साह थप्नुभएको छ ।

बाजा हस्तान्तरण गर्दै प्रदेश सांसद महर्जनले भन्नुभयो -देश जोगिन भूगोल संगै भाषा र संस्कृति जोगिनुपर्छ, युवालाई संस्कृति सिकाएनौं भने देश जोगिन्नँ । संस्कृति समृद्धिको स्रोत समेत भएको बताउँदै सांसद महर्जनले राष्ट्रियता र समृद्धिको लागि संस्कृति संरक्षण जरुरी भएको बताउनुभयो ।

१०० जना सहभागी भईरहेको यो तालिममा ४० जनाले धिमे बाजा बजाउन सिकिरहेका छन् । महिला र पुरुषको समान सहभागिता भएको यो तालिमका तीन लाख बजेटको ६ सेट बाजा हस्तान्तरण गरिएको हो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*