राष्ट्रपति सी भ्रमणका चार आयाम

 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपराह्न दुईदिने नेपाल भ्रमणमा आउँदै छन् । राष्ट्रपति सीले नेपाल भ्रमणबारे गोरखापत्र र द राइजिङ नेपालमा विशेष आलेखमार्फत नेपाल–चीन सम्बन्धको महत्वबारे सात बुँदा शुक्रबार सार्वजनिक गरेका छन् ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको भ्रमण ऐतिहासिक र सफल हुने भन्दै त्यसका लागि सबै तयारी गरिएको शुक्रबार नै बताउनुभएको छ ।

चीन नेपालको असल र मित्रवत् छिमेकी हुँदै हो, त्योसँगै विश्वको महाशक्तिउन्मुख राष्ट्र पनि हो । त्यसैले छिमेकी राष्ट्रका प्रमुखका रूपमा मात्र नभएर महाशक्तिउन्मुख राष्ट्रका शक्तिशाली राष्ट्रपतिको भ्रमणका रूपमा यसलाई हेरिनुपर्छ ।

सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमणको २३ वर्षपछि राष्ट्रपति सीको भ्रमण हुन लागेको हो । नेपालका तर्फबाट राष्ट्रपति र प्रधानमन्त्रीको तहमा निरन्तर भ्रमण हुने तर चीनबाट भ्रमणका ‘रेसिप्रोसिटी’ नभइरहेको अवस्थामा सी नेपाल आउँदै हुनुहुन्छ ।  त्यसैले भ्रमण आफैँमा ऐतिहासिक हो ।

भ्रमणका महवपूर्ण चार आयाम
पहिलो, ऐतिहासिक भ्रमणको आरम्भ र निरन्तरता हो । छिमेकी राष्ट्रप्रति चीनका निश्चित दायित्व छन् तर सँंगै चीनका विश्वव्यापी दायित्व पनि छन् । चिनियाँ क्रान्तिको नेतृत्व गरेर जनवादी गणतन्त्रमा रुपान्तरण गर्ने माओत्सेतुङपछि शक्तिशाली नेताका रूपमा स्थापित राष्ट्रपति सीले नेपाललाई विशेष महत्व दिएका हुन् । अर्थात् शक्तिशाली चिनियाँ नेतृत्वको दृष्टिमा नेपाल पर्नु नै पहिलो उपलब्धि हो । उच्चस्तरका भ्रमणको आदानप्रदान पारस्परिक सम्बन्ध र विकासका आधार हुन् ।

दोस्रो– नेपाल सरकार र जनताप्रतिको विश्वास । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री भएका बेला राष्ट्रपति सीलाई नेपाल भ्रमणमा ल्याउने एजेन्डालाई सबैभन्दा प्राथमिकतामा राखेका थिए । उनले राष्ट्रपतिका तर्फबाट निमन्त्रणा दिएका पनि थियो । सी भ्रमणमा आउने तयारी भइरहेका बेला ओली नेतृत्वको सरकारविरुद्ध देशीविदेशी षड्यन्त्र भएपछि उनले राजीनामा दिए । राष्ट्रपति सीको भ्रमण अनिश्चित भयो ।

निर्वाचनमार्फत ओली प्रधानमन्त्री भएपछि अहिले यो भ्रमण सम्भव भएको हो । त्यसैले ओली नेतृत्वको नेपालप्रतिको विश्वास यो भ्रमणमा देखिन्छ । त्यतिमात्र होइन, राष्ट्रपति सीले नेपाल र चीनबीच जनस्तरको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आउनुभएको छ । त्यसैले भ्रमणमा जनस्तरको सम्बन्धलाई थप प्रगाढ र प्रभावकारी बनाउने एजेन्डासमेत समेटिएका छन् ।

तेस्रो– ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा योगदान र समर्थन । प्रधानमन्त्री ओलीले राजनीतिक सङ्क्रमणपछि नेपाल विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले आफ्ना सबै विदेश भ्रमणमा नेपालको यो राष्ट्रिय लक्ष्यलाई प्राथमिकताका साथ उठाएका छन् । त्यतिमात्र होइन, चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली खछियाङले पनि नेपाली उच्च राजनीतिक नेतृत्वसँगको भेटवार्तामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा समर्थन रहेको बताएका छन् । नेपालले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै त्यसका लागि बाह्य लगानीको खुला आह्वान गरेको छ । त्यसक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ नेतृत्वसँग पनि लगानीका लागि आग्रह गर्दै आएका छन् । त्यसै पृष्ठभूमिमा राष्ट्रपतिको भ्रमणले लगानीमार्फत नेपाली राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउन सहयोग गर्नेछ ।

केरुङ–काठमाडौँ रेलको विस्तृत परियोजना प्रतिवेदन निर्माणदेखि अरनिको राजमार्गको स्तरोन्नति, टोखा–खहरे सुरुङमार्ग, कोसी, कर्णाली करिडरलगायतका दर्जन बढी एजेन्डामा सहमति हुँदैछ । त्यसबाहेक राष्ट्रपति सीका तर्फबाट सहयोगको ‘सरप्राइज’ घोषणा हुने सम्भावना पनि छ । राष्ट्रपति सीले भनेजस्तै नेपाल–चीन आपसी हित र लाभका लागि असल साझेदार हुन् भने एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइसमेत हुन् । दुवै देशबीच सम्पर्क सञ्जाल पहिलो आवश्यकता भएको सन्दर्भमा त्यसमा चीन व्यावहारिक सहयोग गर्न तयार रहेको राष्ट्रपति सीले बताउनुले नेपाललाई दिएको महत्व प्रष्ट हुन्छ ।

चौथो, उच्चस्तरीय राजनीतिक समझदारीको रणनीतिक विकास । राष्ट्रपति सीको भ्रमणमा चीनले नेपाललाई दिने सहयोग वा जनाउने प्रतिबद्धतामात्र भ्रमण सफल हुनु वा नहुनुका आधार होइनन् । खासमा उच्चस्तरका भ्रमणलाई त्यसरी मूल्याङ्कन गर्नुहुँदैन । द्विपक्षीय सम्बन्धमा ऐतिहासिक उपलब्धि यसअघि नै दुई देशबीच भएको पारवहन र यातायात सम्झौता हो, जसको प्रोटोकलसमेत तयार भएका छन् । अब कार्यान्वयनको चरणमा छ । नेपाललाई वास्तविक रूपमा भूपरिवेष्टितबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्ने कामको आरम्भ त्यही हो । ती ऐतिहासिक आरम्भलाई थप अनुमोदन गर्दै राष्ट्रपति सी भ्रमणमा आउनुले उच्चस्तरको राजनीतिक सम्बन्ध स्थापित भएको मात्र होइन, निरन्तरता पाएको देखाउँछ । सबैभन्दा ठूलो उपलब्धि यही हो ।

आजको गोरखापत्र दैनिकमा गोपाल खनालको यो समाचार विश्लेषण प्रकाशित भएको छ ।