काठमाडौँ — प्रधानमन्त्रीको नीति तथा कार्यक्रम र सरकारले तयारी गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुक्रबार घोषणा गरिएको छ । हालै सरकारद्धारा निर्णय भएको सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि लागू हुने जानकारी शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गराइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना कार्यक्रममा समेटिएको जानकारी गराएको छ । यो योजना लागू भएपछि योगदानमा आधारित पेन्सनसमेत सुरु हुनेछ।
सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी उक्त रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी ३१ प्रतिशतबराबर कोषमा जम्मा गर्नुपर्ने छ ।

पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका सचिव महेश्वर दाहालले सामाजिक सुरक्षा योजना सञ्चालनको लागि आवश्यक पर्ने सबै कानुन तथा कार्यविधिहरु पूरा भएको र प्रधानमन्त्रीले औपचारिक उद्घाटन गरेपछि लागू हुने बताउनुभयो । औद्योगिक वातावरण निर्माण र समृद्धिको कार्ययोजना कार्यान्वयनका लागि रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर हुनुपर्ने सचिव दाहालले बताउनुभयो ।
६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्नाबापतको शुल्क, निदान तथा परिक्षण सेवा बापतको खर्च औषधि बिलबमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा-आउँदाको खर्च पाउने सुविधा छ। दुर्घटना भई आवश्यक भएकोमा बाहेक प्लास्टिक सर्जरी तथा दाँतको उपचार खर्च वारियर्टिक सर्जरी (वोसो निकाल्ने) बापतको खर्च, महामारी भई कोषले स्वास्थ्य सुविधा निलम्बन गरेको अवस्थामा भने सुविधा पाउने छैन।

अस्पताल भर्ना भई उपचार गराउँदा वर्षमा एक लाखसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँसम्म सुविधा पाउनेछ। कुल दाबीको २० प्रतिशत मात्रै श्रमिकले तिर्नुपर्छ। बिरामी बिदामा बस्दा १२ दिन बिरामी बिदाबापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा कार्यविधिमा उल्लेख छ।

मातृत्व सुरक्षा योजनाअन्तर्गत पछिल्लो १८ महिनामा १२ योगदान गरेका गर्भवती श्रमिकले गर्भ अवस्थाको नियमित परीक्षण, अस्पताल भर्ना तथा शल्यक्रिया र नवजात शिशुको उपचारबापतको औषधि उपचारबापतको खर्च, प्रसूति स्याहारका लागि प्रतिमहिना न्युनतम पारिश्रमिकबरावर रकम, सुत्केरीका श्रीमान्‌ले पनि महिना दिनको न्युनतम पारिश्रमिक पाउनेछ। यस्तै प्रसूति बिदा अवधि ९८ दिनमध्ये ६० दिनको रोजगारदाताले दिने र सो बाहेक ३८ दिनको लागि खाईपाई आएको पारिश्रमिकको ६० प्रतिशत रकम पाउनेछ।

 

 

 

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*