प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

 

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि आज (शुक्रबार) स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज मध्याह्न स्वदेश फर्कनुहुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ जानुभएको थियो ।