प्रम ओलीको उपचार सम्पन्न: भोलि स्वदेश फिर्ता हुँदै

 

काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार पूरा भएसँगै भोली स्वदेश फिर्ता हुनुहुने भएको छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १४ दिनको नियमित स्वास्थ्य उपचार बुधबार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिलीप शर्माले जानकारी दिनुभयो । उपचार सकिएसँगै प्रधानमन्त्री ओली भोलि शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका निजी चिकित्सक शर्माले बताउनु भयो । प्रधानमन्त्रीको उपचार सकिएसँगै निजि चिकित्सक शर्मा बुधवार नै स्वदेश फर्कनुभएको छ । शर्माका अनुसार सातौँ चरणको प्लाज्मा फेरेसिस सकिएको छ । अहिलेसम्म उहाँका रिपोर्ट ठीक छन् । उहाँ स्वस्थ भएर शुक्रबार फर्किंदै हुनुहुन्छ ।