“म अर्जेन्टिनामा जन्में, क्यूबामा लडें र ग्वाटेमालामा क्रान्तिकारी बनें”, यो अभिव्यक्ति विख्यात अन्तर्राष्ट्रियवादी कम्युनिष्ट नायक कमरेड अर्नेष्टो चे ग्वेभाराको हो । उनले माथिको कुरा आफ्नो आत्मकथाको सार खिच्दै लेखेका थिए ।

कमरेड चे ग्वेभारा क्यूवाली क्रान्तिका एक प्रमूख नायक थिए । क्यूवाली क्रान्ति सफलतापूर्वक सम्पन्न हुनुमा छापामार युद्धको निर्णायक भूमिका थियो । क्यूवाली क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका क. चे ग्वेभारा यही छापामार युद्धका एक प्रतिपादकको रुपमा चर्चित छन् ।

अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा ग्वाटेमालाबाट क्रान्तिकारी बनेका थिए । क्यूवाको क्रान्ति सफल भएपछि उनले ल्याटिन अमेरिकामा महादेशीय क्रान्ति गर्ने उद्देश्यले बोलिभियामा पनि क्रान्तिको शुरुवात गरेका थिए । अन्ततः बोलिभियाको युद्ध मैदानमा लड्दा लड्दै उनले वीरगति प्राप्त गरे । यसरी, अमेरिकी साम्राज्यवाद र त्यसका मतियारहरुका विरुद्ध स्वतन्त्रता, समानता र मुक्तिका लागि लडेर शहादत प्राप्त गरेका चे ग्वेभाराको सिंगै जीवन बिद्रोहले भरिपूर्ण र साहसिक थियो ।

ल्याटिन अमेरिकाको एक देश अर्जेन्टिनाको एकजना इन्जिनियरको मध्यम वर्गीय परिवारमा सन् १९२८ को जून १४ मा चे ग्वेभाराको जन्म भएको थियो । स्पेनीस र आइरिश रक्तमिश्रित चे ग्वेभाराको पारिवारिक नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो । परिवारमा प्रेमपूर्वक बोलाइने नाम चाहि तेते थियो । तर, संघर्षको क्रममा उनले आफ्नो उपनाम चे राखे । चेको अर्थ हो–हाम्रो । अर्थात् हाम्रो (चे) ग्वेभारा । पछि उनी आफ्नो वास्तविक नामले भन्दा पनि यही उपनामले प्रसिद्ध भए ।

अर्नेष्टो चे ग्वेभाराको रगतका कण–कणमा उनको परिवारको संस्कृति मिसिएको थियो । परिवारबाट उनले न्यायप्रतिको प्रेम, फासीवादप्रतिको घृणा, धार्मिक सहिष्णुता, साहित्यमा रुचि, कविताप्रतिको प्रेम एवं पैसा कमाउ प्रवृतिप्रतिको वितृष्णाको संस्कृति सिकेका थिए । आफ्नो विद्रोही स्वभावलाई मिल्ने पारिवारिक संस्कृतिको जगमा उभिएर उनले जीवन, जगत र किताबको अध्ययन गर्न थाले । त्यसबाहेक, अर्जेटिन्नाका साथै ल्याटिन अमेरिकाभरिकै यात्राको क्रममा थाहा भएको आर्थिक, राजनीतिक स्थितिको अनुशीलनले चे ग्वेभारालाई क्रान्तिकारी बनाएको थियो ।

दुई वर्षको उमेरमै दमको दीर्घरोगी भएका चेको विद्यार्थी जीवन कुनै सामान्य बालकको जस्तो भएन । दीर्घरोगी भएकाले ओछ्यानबाटै अध्ययन थालेका चेले खेलकूद, साहित्य, यात्राका साथसाथै अध्ययनमा काफी प्रगति गरे । भनिन्छ, उनले व्यवहारमा किशोर हुँदा युवाहरुको जस्तो, युवा हुँदा प्रौढ जस्तो परिपक्कता प्राप्त गरेका थिए ।

आफ्नो स्कूलका समकालीन विद्यार्थीहरुको आँखामा चे आत्मविश्वासी, विचारमा पूर्ण रुपमा स्वतन्त्र, बहुआयामिक र विद्रोही थिए । शिक्षकहरुको आँखामा चे अस्वाभाविक रुपमा हुर्केको–बढेको, प्रौढता हासिल गरेको, आफ्नै व्यक्तित्व भएको, मुढी, अनुशासनहीन तर अध्ययनशील विद्यार्थी थिए । त्यसैले, स्कूलको अध्ययनको क्रममै उनले विश्वविद्यालयका विद्यार्थीहरु समान हैसियत पाएका थिए । अल्टा ग्रेसियाको स्कूले जीवन सकेर १९४१ मा १३ वर्षको उमेरमै उनले डीन फ्यनस स्टेट कलेजमा अध्ययन गरेका थिए ।

४ वर्ष कलेज अध्ययन समाप्त गरी राजधानी ब्यूनस आयर्सको युनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागी उनले प्रवेश लिए । इन्जिनियर बाबुको र सिंगै परिवारको आशा चे इन्जिनियर बन्नेछ भन्ने थियो । तर, क्यान्सर रोगबाट आफ्नी हजुरआमाको भएको मृत्यु, आफ्नी आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दमको रोगका कारणले उनलाई डाक्टरी पढ्न घच्घच्याएको थियो ।

che-guevara

चे आत्मविश्वासी, विचारमा पूर्ण रुपमा स्वतन्त्र, बहुआयामिक र विद्रोही थिए । शिक्षकहरुको आँखामा चे अस्वाभाविक रुपमा हुर्केको–बढेको, प्रौढता हासिल गरेको, आफ्नै व्यक्तित्व भएको, मुढी, अनुशासनहीन तर अध्ययनशील विद्यार्थी थिए । आफ्नो रोगी शरिरलाई वास्तै नगरी उनले ६ वर्षको विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे ।

दमले ४५ पटकसम्म आक्रमण गरे तापनि उनले १६ वटा प्रमूख जाँचहरु ६ महिनामै पास गरिछाडे । तर, उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउने ध्यान्उना कहिल्यै पनि गरेनन् । उनी फुर्सदमा साहित्यको अध्ययन र आफ्नो देश एवं सिंगै ल्याटिन अमेरिकी महादेशका कुनाकाप्चामा साइकल यात्रा गरेर बिताउँथे । बाल्यावस्थादेखि नै निक्कै कमजोर शरीर भएका चेको जीउ फुकिढल भएपनि उनी कुशाग्र बुद्धि र दृढ संकल्प शक्तिका धनी थिए । पढन्ते र घुमन्ते स्वभाव भएका चेले किशोरावस्थामै मार्क्सदेखि फ्रायडसम्मका किताबहरु पढेका थिए ।

आफ्नी हजुरआमा, आमा र आफ्नो लगायत गाउँ–छिमेक र शहरका जनताको रोगको जैविक कारणलाई डाक्टरी शिक्षाले उपचार गर्न सक्ने स्थिति उनले देखे । तर, त्यसको सामाजिक, आर्थिक र राजनीतिक कारणको उपचार के हो त ? यो जटील प्रश्नले डाक्टरी शिक्षा पढेका चे ल्याटिन अमेरिकी देशका गरीब बस्तीहरु र मजदुर बस्तीहरुको प्रत्यक्ष अनुभव बटुलेपछि बिस्तारै शारिरीक रोगहरुको खोजविनबाट सामाजिक रोगहरुको निराकरणतर्फ ढल्कन थाले ।

चेले भनेका थिए– “मेडिकल लाइनको अध्ययन थाल्दा मलाई लागेको थियो– म डाक्टर बन्छु । क्रान्तिकारी बन्छु भन्ने त भान नै थिएन । सबै विद्यार्थीहरुमा जस्तै ममा पनि सफलताको इच्छा थियो, प्रसिद्ध अनुसन्धानकर्ता हुने सपना थियो र मानव जातिको हितको लागि निस्वार्थ रुपले खटेर कुनै ठोस उपलब्धि हासिल गरेर देखाउन महत्वाकांक्षा थियो । तर, ती सबै सपनाहरु मेरा व्यक्तिगत सफलतासँग मात्रै सम्बन्धित थिए । किनकी, म पनि हामी सबै जस्तै यही वातावरणकै उत्पादन थिएँ ।”

“पछि, मैले देखें, अभिभावकहरु पैसाको अभावमा आफ्ना छोराछोरीहरुलाई उपचार गराउन असमर्थ छन् । मैले देखें – निरन्तर रुपले सहनुपर्ने भोक र पीडाले मानिसहरुलाई अघःपतन गरिराखेको र पशु बन्न बाध्य पारिराखेको दुखद अवस्था छ, जसले गर्दा बाबुहरु स्वयं आफ्ना सन्तानहरुको मृत्युको कामना गरिरहेको समेत देखें । तब मैले महशुस गरें– एउटा प्रसिद्ध अनुसन्धानकर्ता हुनुभन्दा पनि मेडिकल साइन्समा महत्वपूर्ण र ठोस योगदान गर्नुभन्दा पनि, पीडित जनतलाई राहत दिनुभन्दा पनि महत्वपूर्ण कुरा हो– “लक्ष्य, क्रान्तिको लक्ष्य ।”

अझ त्यसमा पनि ल्याटिन अमेरिकी महादेशको लामो यात्राको क्रममा ड्राइभर, डाक्टर, भरिया र कान्छा भएर चिलीका खानीहरु, अमेजन जंगलका रेड–इण्डियन आदिवासीहरुको बस्ती, पेरुका खेत–खलिहान र मजदुरका कार्यस्थलहरुको भ्रमणले उनमा थप प्रश्न, उर्जा र क्रान्तिकारी चेत थपिदियो ।

क्रान्तिको लक्ष्यले मात्रै अर्जेन्टिना, चिली, पेरु, मेक्सिको र सिंगो ल्याटिन अमेरिकी गरीब उत्पीडित, रोगी र भोका–नाङ्गा जनताको रोगलाई निर्मुल गर्न सक्छ भन्ने चेत उनमा त्यो यात्राले विस्तारै भर्न थाल्यो । उनले एकपटक भनेका थिए, ‘‘मैले यात्रा गरेका देशहरुको स्थिति हेरेर, त्यहाँको गरीबी र रोग–भोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ – स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखें– निरन्तर दमनका कार्यहरु जारी छन्, कुपोषणको आँधी चल्दैछ । यसै क्रममा मैले महशुस गर्न थालें– अनुसन्धानकर्ता हुन, मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो –क्रान्तिकारी बन्नु ।”

यसै क्रममा १९५३ मा डाक्टर बनेका चेले अचानक फेरि आफ्नो देश छोडी नजिकैको देश बोलिभियाको यात्रा गरे । बोलिभियामा त्यसबेला पूँजीवादी–सुधारवादी सरकारबाट राष्ट्रको टीन खानीलाई राष्ट्रियकरण गर्ने, जमीनहरु आदिबासी किसानहरुमा वितरण गर्ने सुधारवादी कार्यहरु भइरहेका थिए । यसबाट मेडिकल साइन्स र पुरातत्वमा विशेष रुचि लिने चेभित्र विकसित हुदै गइरहेको क्रान्तिकारितालाई थप बल मिल्यो ।

बोलिभियाको पूँजीवादी–सुधारवादी सरकारका क्रियाकलापहरुले उनलाई क्रान्तिकारी विचारप्रति निकै आकर्षित गरे । त्यसैले चे बुझेकाहरु भन्छन्,“बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम सङ्घर्ष गर्ने प्रेरणा दिएको थियो, भनौं यसले उनको राजनीतिक जीवनको शुरु र अन्त गरेको थियो ।”

तर, १९५३ को बोलिभियाली क्रान्ति पछि गएर चाँडै सुधारवादबाट पनि तल खस्दै जान थालेको देखेर चे चिन्तित भए । ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोलिभारको शालिक अगाडि “बोलिभियामा अर्को क्रान्तिको आवश्यकता छ” भन्ने विचार पोख्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरी हिडे । सरकारद्धारा खानीहरु राष्ट्रियकरण गरिएपछि मजदुरहरुको ज्याला त केही बृद्धि भयो । तर, मजदुरहरुलाई मानसिक र भौतिक रुपमा सशस्त्र पार्ने काम नभएबाट मजदुरहरु सुधारमै दिग्भ्रमित हुने छन् भन्ने विचार चेको थियो ।

त्यसपछि उनले ट्रकमा चढेर आफ्ना बोलिभिया–यात्राका सहयात्री रोजीसँगै पेरुका ग्वायाक्वील क्षेत्रमा आदिवासी जनताका बस्तीहरुमा यात्रा गरे । त्यसपछि उनी ग्वोमाला पुगे, जहाँ अर्को क्रान्तिको नगरा बज्दै थियो । त्यहाँ ज्याकोब आर्वेन्जको सुधारवादी सरकारले प्रगतिशील बुद्धिजीवीहरु र युवा सैनिक अधिकारीहरुको बलमा सुधारवादी काम थाल्दै थियो । आर्बेन्ज सरकारले पनि अमेरिकी साम्राज्यवाद अन्तर्गतको यूनाइटेड फ्रुट कम्पनीका जग्गा–जमीनहरु अधिग्रहण गरेर रेड इण्डियनहरु र किसानहरुलाई वितरण गरिरहेको थियो । तथापि, युनाइटेड फ्रुट कम्पनीको उपनिवेशको रुपमा चर्चित ग्वाटेमालामा आर्वेन्ज सरकारले सामान्य सुधारवादी कामहरु मात्रै गर्न थालेको देखेर समेत अमेरिकी साम्राज्यवाद आगो भएको थियो ।

त्यही बेला ग्वाटेमाला पुगेर आर्वेन्जको सरकारलाई सहयोग गर्न चेले डाक्टर भएरै सेवा गर्न खोज्दा जनस्वास्थ्य विभागका अधिकारीहरुले उनीसित सत्तासीन ग्वाटेमालाको लेवोर पार्टीको सदस्यता कार्ड खोजे । चेले आफू क्रान्तिकारी भएको, तर पार्टी सदस्य नभएको जवाफ दिएपछि उनले सहयोग गर्ने अवसर समेत पाएनन् । यत्तिकैमा अमेरिकाको षड्यन्त्रले गर्दा १९५४ मा आर्बेन्ज सरकालाई सैनिक विद्रोहमार्फत् अपदस्त गरियो ।

त्यसपछि चे पनि त्यहाँको सङ्घर्षको मैदानमा होमिए । सिआइएद्धारा प्रशिक्षित, निर्देशित तथा अत्याधुनिक हतियारले सुसज्जित क्यास्टिलो अमसिका भाडाका सैनिकहरुले ग्वाटेमालामा गरेको प्रतिक्रान्तिकारी हमलाको विरोधमा जनतालाई सशस्त्र प्रतिरोध गर्नका लागि उत्प्रेरित गर्दै उक्त काममा उनी आफै पनि खटे । तर, अन्ततः प्रतिक्रान्तिकारी गिरोहले सत्ता कब्जा गरेपछि उनी अर्जेन्टिनाको दुतावासमा दुई महिनासम्म शरण लिई बस्न बाध्य भए ।

आर्वेन्ज सरकारको पतन, चेले आब्हान गरेको सशस्त्र प्रतिरोधको दुखद् असफलता र अमेरिकी साम्राज्यवादको विजयले उनीमा सम्पूर्ण जनता र विश्वको एक नम्बरको शत्रु अमेरिकी साम्राज्यवाद हो भन्ने चेत खुल्यो । र, साम्राज्यवाद विरोधी राजनीतिक शक्ति, दर्शन र विचारहरुको अध्ययनका लागि यस पराजयले उनको दिलदिमागको ढोका खोल्यो । यसरी उनीभित्र एकजना डाक्टरबाट क्रान्तिकारी र माक्र्सवादी हुने आन्तरिक विकासक्रम ग्वाटेमालाको सुधारवादी सरकारको अमेरिकी साम्राज्यवादसँगको द्धन्दको क्रममा बढी तीब्र भएको थियो ।

ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि मेक्सिकोमा गएर उनले माक्र्सवादका विशेषतः माक्र्स र लेनिनका रचनाहरुको अध्ययन गर्न थाले । माक्र्स र लेनिनका सम्पूर्ण रचनाहरु र अन्य माक्र्सवादी विचारकहरुको विचार अध्ययन गर्ने क्रममै उनले फ्रान्काको फासीवादी शासनविरोधी स्पेनिस गृहयुद्धमा प्रयु्क्त छापामार युद्धका कला–कौशलहरुको अध्ययन गर्न थाले । मेक्सिकोको तथाकथित क्रान्तिकारी सरकारद्धारा थालिएको सुधारले पनि पूँजीपति वर्ग र अमेरिकी साम्राज्यवादकै सेवा गरिरहेको अनुभव बटुलेपछि त उनीमा अत्यन्त तीब्र वेगले परिवर्तन आयो । अब उनको क्रान्तिकारिता माक्र्सवादी दर्शनसँग जोडिन थाल्यो ।

भोक, अध्ययन र अनुभवको तीव्र वेगले उनलाई क्रान्तिकारी नभएका सुधारवादी सरकारहरुले जनतामा भ्रम मात्रै पार्ने र क्रान्तिलाई पछि धकेल्ने काम मात्रै गर्ने निष्कर्षतिर पु-यायो । उनलाई यसले जनसंघर्षसँग जोडिएको सशस्त्र संघर्ष आवश्यक भएको निर्णयतिर पु-यायो । अर्जेन्टिनामा जन्मेर क्यूबामा लडेर ग्वाटेमालामा क्रान्तिकारी बनेका ग्वेभाराको बोलिभियामा हत्या भयो ।

यसरी विश्वभरिका क्रान्तिकारीहरुका आदर्श चे ग्वेभारा ढले । उनले आफ्नो जीवनमा गरेको सङ्घर्ष र क्रान्तिकारी आदर्श आज पनि विश्वका करोडौं क्रान्तिकारीहरुका लागि प्रेरणा बनिरहेको छ, हार्दिक श्रद्धासुमन ग्वेभारा ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*