पर्यटनमन्त्रीको अर्को एक्सनः कर्मचारीले कार्यालय समयमा मोवाइल फोन चलाउन नपाइने

 

काठमाडौं, भदौ १५ । मन्त्री भए लगत्तै आफ्नो मन्त्रालयको क्षेत्रमा सुधार गर्दै आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा हुने गरेको व्यवहारमा सुधार ल्याउन अर्को एक्सन लिनुभएको छ । अब विमानस्थल कर्मचारीहरुले कार्यालय समयमा मोबाइल फोनमा कुरा गर्न नपाउने गरी मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ । मन्त्री भट्टराईले दाग लागेका कर्मचारीहरुलाई तत्काल विमानस्थलबाट हटाइने पनि बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका कर्मचारीलाई हटाइने बताउनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुलाई सकारात्मक सोच विषयक प्रशिक्षण तालिमको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारवाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिनुभयो ।

सो विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने योजनासमेत उहाँले सुनाउनु भयो । मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको मन्त्री भट्टराईले प्रष्ट पार्नुभयो । ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वाससमेत उहाँको छ । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन् ।