वामदेवलाई पदै पद, खनाललाई वरियताको चिन्ता

 

काठमाडौं, ३२ साउन । सत्तारूढ नेकपा एकतापछिको कार्यविभाजनमा सचिवालय सदस्य वामदेव गौतमलाई नाफैनाफा आइलागेको छ । एकातिर गौतमकै लागि नयाँ पद सिर्जना गरेर केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइँदैछ भने अर्कोतर्फ उनलाई पार्टीका महत्वपूर्ण दुई विभागको प्रमुख बनाइएको छ ।

नेताहरूको कार्य्विभाजन गर्न शुक्रबार बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए । पार्टीमा पाँचौं वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो ।

नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएको स्रोतले बतायो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए । गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो ।

तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए । पार्टी एकताको झण्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको हो। कार्य्विभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ ।

पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन । स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष बनाउने सहमति जुटेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए । पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो ।

स्कुल विभागमा पोखरेल

पार्टी स्कुल विभागको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेलले पाएका छन् । तत्कालीन एमाले महासचिव समेत रहेका पोखरेलले एकतापछि पार्टीले लिएको ‘जनताको जनवाद’ को कार्य्दिशामाथि आलोचना गर्दै आएका थिए ।

तत्कालीन एमालेले लिएको जनताको बहुदलीय जनवाद ९जबज० लाई सिद्धान्त बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि पूर्वमाओवादी नेताहरूले पोखरेललाई ‘पार्टी एकताविरोधी’ को संज्ञा दिएका थिए । पोखरेलको सट्टा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने पूर्वमाओवादी नेताहरूको अडान थियो । पोखरेल कि श्रेष्ठमध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा पार्टीपंक्ति नै दुई खेमामा विभाजित थियो ।

स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, वेदुराम भुसाललगायतले पनि दाबी गरेका थिए । तर अध्यक्षद्वयको सहमतिमा पोखरेलले जिम्मेवारी पाएका हुन् । प्रचार विभागको जिम्मेवारी पाएका श्रेष्ठले पार्टी एकताका लागि आफूले स्कुल विभागको दाबी छोडेको प्रतिक्रिया दिएका छन् । उनले स्कुल विभागमा दाबी गरेर पार्टी एकताको काम लम्ब्याउन नचाहेको बताए । पार्टीको कार्य्दिशा र नीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्कुल विभागमा धेरै नेताहरूले दाबी गरेका थिए ।

सचिवालय बैठकले वरिष्ठ नेता माधव नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेपाललाई रुचिअनुसार उक्त विभागको जिम्मेवारी दिइएको नेताहरू बताउँछन् । अर्का वरिष्ठ नेता झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन्। मन्त्रीहरूलाई सम्बन्धित मन्त्रालयकै जिम्मेवारी दिइएको छ ।

वरियता माथि पार्न खनालको प्रस्ताव
वरिष्ठ नेता नेपालभन्दा आफू माथि हुनुपर्ने भन्दै अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा लिखित प्रस्ताव पेस गरेका छन् । सचिवालय बैठकमा नेता खनालले राखेको प्रस्तावमाथि छलफल भएको नेताहरूले बताए।

आफू विदेशमा रहेका बेला आफ्नो वरीयता तल झारिएको भन्दै खनालले अध्यक्षद्वयसँग असन्तुष्टि जनाउँदै आएका छन् । तत्कालीन एमालेमा नेपालभन्दा आफू पहिले वरिष्ठ नेता भएको खनालको तर्क छ । खनालको प्रस्तावमाथि सचिवालयको आगामी बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन् । खनाल पार्टीमा चौथो वरीयतामा छन् । खनालको प्रस्ताव पारित भए अध्यक्षद्वयपछिको वरीयता पाउने छन् ।

मन्त्रीलाई मन्त्रालयकै जिम्मेवारी

नेकपाले मन्त्रीहरूलाई मन्त्रालयसँग सम्बन्धित विभागको जिम्मेवारी दिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग, विना मगरलाई खानेपानी तथा सरसफाइ विभाग, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख तोकिएको छ ।

यस्तै लालबाबु पण्डितलाई सामान्य प्रशासन विभाग, वर्षमान पुनलाई जल स्रोत, सिँचाइ तथा ऊर्जा विभाग र गृहमन्त्री रामबहादुर थापालाई राजकीय मामला तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । नेकपाले प्रदीप ज्ञवालीलाई निर्वाचन विभागको जिम्मेवारी दिइएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संघीय संसदीय विभाग प्रमुख र प्रमुख सचेतक देव गुरुङलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

विवादित पराजुलीलाई जिम्मेवारी

कृषिमन्त्री हुँदा महिलामाथि अपमान गरेको आरोप खेपेका हरिप्रसाद पराजुलीले कृषि तथा भूमिसुधार विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् । पराजुली वामदेव गौतम निकट मानिन्छन् । गौतम निकट बलराम बाँस्कोटाले पनि उपभोक्ता हित तथा आपूर्ति विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् । गौतम आफ्नो टिमलाई पनि महत्वपूर्ण जिम्मेवारी दिलाउन सफल भएको नेताहरू बताउँछन् ।

सचिवालय बैठकले सात वटै प्रदेशमा दुईदुई जना सहइन्चार्ज तोकेको छ । यसअघि एकएक जना मात्र सहइन्चार्ज रहेकामा अब तीन–तीन जना सहइन्चार्ज हुनेछन् ।

महासचिव विष्णु पौडेलका अनुसार प्रदेश १ मा नरेश खरेल र शेरधन राई, प्रदेशमा २ नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ काशीनाथ अधिकारी र हितमान शाक्य, गण्डकीमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, प्रदेश ५ कुलप्रसाद केसी र बैजनाथ चौधरी, कर्णालीमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिममा खगराज भट्ट र भानुभक्त जैसीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । श्रीराम ढकाल र ईश्वरी रिजालले कार्यालय सचिवको जिम्मेवारी पाएका छन् । अन्नपूर्ण पोष्टबाट