ओशोधारामा नारी सशक्तिकरण अभियान

 

काठमाडौं । ओशोधाराका प्रवर्तक सिद्दार्थ औलिया संगको प्रश्नोत्तर कार्यक्रममा नारी सशक्तिकरणको अभियान जोडिएको छ । प्रश्नोत्तर कार्यक्रममा गरिएको एउटा प्रश्न सोधिएको थियो ‘यति धेरै भौतिक विकास, विज्ञानको विकास, शिक्षाको विकास हुँदा पनि महिलामाथिको हिंसा ज्युँका त्युँ हुनुको कारण के होला ?

कारण धेरै छन् जसमा शारीरिक, आर्थिक, सामाजिक, भावनात्मक र आध्यात्मिक सबै आयामहरू जीवनमा सन्तुलनमा भएनन् भने हिंसा गर्ने व्यक्ति पनि पिडित व्यक्ति पनि प्रभावमा पर्दछन् । महिलाहरूको प्राकृतिक स्वभाव नै उनीहरू खुलेर आफ्ना कुरा राख्न सक्दैनन् । अरूलाई असहज नहोस्, मेरो कारणले नराम्रो नहोस् र सकेसम्म सबैलाई खुसी राखौं भन्ने सहनशीलताको कारण महिलाहरूलाई घरमा, समाजमा स्वतन्त्रता दिइएको हुँदैन । त्यसैले महिलाहरूको लागि एउटा महिला मंच नै चाहिन्छ जहाँ महिलाहरूले आफ्ना कुरा खुलेर एक अर्कामा बताउन सकुन् । जहाँ महिलाहरू आफूलाई स्वतन्त्र र म पनि गर्न सक्छु भन्ने भावनाले शसक्त बनुन् । उनीहरूले आफ्ना शारीरिक समस्या र शरीरमा आउने परिवर्तन, भावनात्मक रूपमा दबेर बसेका भावना ओकल्न सकुन्, आफैमा आत्मनिर्भर हुन आर्थिक अर्थोपार्जनका माध्यम खोज्न थालुन्, समाजमा सुरक्षित रहन सकुन् अनि आध्यात्मिक ज्ञान र ध्यान मार्फत आफूलाई निर्भयमा लैजान र आफ्नो आत्मसत्ताको पनि पहिचान गर्न सकुन् ।

आध्यात्मिक यात्रामा अघि बढ्न पनि महिलालाई सहज छैन तर कसरी अनुरोधात्मक भाषामा र प्रेमपूर्ण भावले निर्भय भएर आफ्नो विकास गर्छन् त्यसको खोजी गर्न सकुन् भन्ने दूरदर्शी सोचका साथ सदगुरूले नारी शसक्तिकरण मंचको अभियान शुरू गरिदिनुभएको जानकारी WE नेपाल संयोजक डा. नम्रता पाण्डेले बताउनुभयो । जुम मंचबाट भर्जुअल रूपमा बसेको WE मिटिंगमा संयोजक डा. नम्रता पाण्डेले के महिला खुलेर आफ्ना कुरा राख्न सक्छन् त ? भन्ने विषयलाई प्रस्तुत गर्दै सहभागी महिलाहरुबाट आफ्नो आफ्नो राय संकलन गर्नुभएको थियो ।

कार्यक्रममा डा. शोभा पौडेल र यमुना घलेले घर, कार्यक्षेत्र, र समुदायबाटै खुलेर बोल्ने, आफ्नो इच्छा अनुसार कर्म गर्ने वातावरण मिलाईदिनुपर्ने र निर्णय क्षमतामा पनि महिलालाई अघि सार्नुपर्ने धारणा सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने इन्दिरा अर्याल, पुष्पा उप्रेती, सुनिता थापा, बिमला पौडेल, सीता देवकोटा, मायाँ पौडेल, कमला ढकाल, सुनिता बस्नेत, सीता अर्याल, कल्पना कार्की, गीता भण्डारी, रिमा जोशी, प्रमिला पाण्डे, इजिता अर्याल, समिक्षा पराजुली लगायतले यस्ता महिला मन्चबाट आफ्ना कुरा खुलेर राख्न सहज हुने धारणा व्यक्त गर्नुभएको थियो ।

महिलाका शारीरिक, आर्थिक, सामाजिक, भावनात्मक र आध्यात्मिक विकासलाई सन्तुलितरूपमा लैजान र अबका पिंढी र छोरीहरूले परम्परागत संकुचित धारणामा बाँच्नु नपरोस् भनी नयाँ आयाम र सोचसहित अगाडि बढ्न एक जुट हुने निर्णय भएको डा.पाण्डेले बताउनुभयो । जुम मिटिंगमा ६० जना महिलाको सहभागिता थियो ।