तीन पुस्ताका सन्तानलाई ९० वर्षे आमाको भर्जुअल टिका र आशिष

 

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण यस वर्षको दशैंलाई पारेको प्रभाव टिका आशिर्वाद र दक्षिणासम्ममा परेको छ । समय र परिस्थतिलाई मानिसले काबुमा राख्न सक्दो रहेनछ भन्ने तथ्य कोरोना कहरले प्रष्ट पारिदिएको यो अवस्थामा कोरोना महामारीसंगको लडाइँ एक्लै बस्ने र प्रविधिको प्रयोग गर्नेमा व्यापकता आएको छ ।

गत डिसेम्बरमा चीनको वुहान सहरबाट शुरू भएको कोरोना भाइरसले दसैं सम्म आइपुग्दा यति भयानक रुप लिन्छ भन्ने अनुमान सायदै कमैले गरेको हुनुपर्छ । संकटको समयमा आफ्नो स्वास्थ्य भन्दा ठूलो कुरा अरू होइन रहेछ भन्ने कुरा धेरैले आफ्नो विवेकमा लिएर नै यस वर्षको चाडपर्व र संस्कारलाई निरन्तरता दिन संयमता अपनाएको पाइएको छ ।

आफ्नो ठूलो परिवार काठमाडौँमै वरिपरी रहेको भएपनि दाजुहरूकहाँ समेत नगई भर्चुअल दसैं मनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत बरिष्ठ कृषि अर्थ विज्ञ डा. प्रद्युम्नराज पाण्डेले बताउनुभएको छ । पाण्डेले आफ्नो अनुभव साट्दै भन्नुभएको छ“ राजधानीमै दैनिक बढ्दै गएको कोरोना संक्रमितको संख्या सुन्दा यसपटक संयम भएर घर बाहिर ननिस्कने हो भने आगामी वर्षहरूमा रमाइलो गरी दसैं मान्न पाइने आशाले गर्दा यसपटक घरमै टिका लगाउने कार्यक्रम भयो। आफूभन्दा ठूला मान्यवर र आफूले आशिर्वाद दिनुपर्ने भान्जाभान्जी, भतिजाभतिजी, ज्वाईंचेला, दिदीबहिनी, चेलीबेटी सबैलाई जुममा आमन्त्रण गरी दसैंको शुभकामना, टिका, जमरा र आशिर्वाद भावनात्मकरूपमा आदानप्रदान गरियो ।

पाण्डे परिवारकी एकमात्र वरिष्ठ सदस्य नब्बे वर्षकी आमाले समेत जुम मार्फत भर्चुअल आशिष, टिका र जमरा प्रदान गर्नुभयो ्आफ्ना ३ पुस्ताका सन्तानलाई । संकटको समय, प्रविधिको प्रयोग र स्वास्थ्यप्रतिको सजगता अनि संयमताले गर्दा यस्तो परिस्थति सृजना भएको र यसलाई सहजतापूर्वक लिनुपर्ने कुरा डा. पाण्डेले बताउनुभयो।