कोरोना कहरमा बढ्दैछ ध्यानको प्रयोग

 
संसारमा अनुकूल र प्रतिकूल अवस्था आइ नै रहन्छन् । त्यसबाट बिचलित नभई संयमित रहनको लागि ध्यानको अभ्यास निरन्तर जारी राख्नु महत्त्वपूर्ण कला हो । मानिसको मन त हरेक परिस्थिति र उपलब्धि, समस्या र सफलतामा पनि उत्तिकै चन्चल, बिचलित र भय ग्रस्त भई नै रहन्छ । जस्तोसुकै परिस्थिति आओस् गुनासो र कथा बनिनै रहन्छन् । ति सबै कुराबाट मुक्ति पाउने एक मात्र उपाय भनेकै ध्यानको अभ्यास हो । 

यहि ध्यानको बोधले मात्र मनलाई स्थिर भएको देख्न, बाहिरका परिस्थितिलाई सम्यक स्वीकार गर्न र वर्तमानमा जे छ त्यसमा खुसी भएर बाँच्न मद्दत गर्दछ । विगत ४ महिनादेखि ओशोधारा नेपालले नियमित रूपमा भर्चुअल जुमको माध्यमबाट बिहान-बेलुकाको समयलाई सदुपयोग गर्दै ध्यानका अभ्यासहरू गराउंदै आइरहेको छ । यसबाट धेरै भन्दा धेरै व्यक्तिहरू लाभान्वित भएको कुरा ओशोधारा नेपाल बागमती प्रदेशका संयोजक डा. प्रद्युम्नराज पाण्डेले बताउनुभयो ।

दैनिक बिहान बेलुका विभिन्न ध्यान विधिका माध्यमबाट ध्यानमा प्रवेश गर्ने कला सिकाईदै आएको र शनिबार छुट्टीको समय पारेर एकदिने ध्यान सत्संग पनि शुरू गरिएको कुरा ओशोधारा नेपाल बागमती प्रदेशका संयोजक ज्यूले बताउनुभयो । यसको शुरूवात बागमती प्रदेशबाट शुरू गरेर, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश लगायत प्रदेश नं. १, २ र ५ मा समेत ध्यान सत्संगको कार्यक्रम आयोजना गरी मानसिक शान्ति कसरी राख्ने, वर्तमान परिस्थतिमा कसरी संयमित बन्ने, ध्यान र प्रज्ञाको विकासद्वारा समस्या समाधानका उपाय कसरी अपनाउने जस्ता विषयमा कार्यशाला गोष्ठीको रूपमा कार्यक्रम सम्पन्न गरिएको थियो । 

भगवान बुद्द, स्टेफेन आर कोभे, ओशो, कविर, नानक लगायतका सन्तपुरूषहरूको देशनामा आधारित रहेर ‘तनावमुक्त सफल जीवन” का सूत्रहरूका कला बताउने र व्यवहारिक अभ्यासमा ल्याउने प्रयोगात्मक अभ्यास निरन्तर भईरहेकोले यो कार्यक्रममा सहभागी भएर लाभ लिन र शान्त एवं आनन्द रहने कला प्राप्त गर्न पनि डा. प्रद्युम्नराज पाण्डेले आमन्त्रण गर्नुभएको छ ।

सफलताको चांगमाथि बसेर समस्या देख्ने मानवीय स्वभावलाई जान्दै समस्याका कारण के हुन् र तिनलाई कसरी निवारण गर्न सकिन्छ भन्ने बारेका सत्रहरूको माध्यमबाट ओशोधारा नेपालले सहज र गुणात्मक जीवन बाँच्ने शैली प्रदान गर्दै आइरहेको पनि उहाँले जानकारी दिनुभयो ।