कोरोनाविरुद्धको खोप पत्ता लाग्ने समयसम्म २० लाखको ज्यान जान सक्छ: डब्ल्युएचओ

 

एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको खोप पत्ता लाग्ने समयसम्म २० लाखको ज्यान सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ ।
संगठनका आपतकालीन सेवा प्रमुख डा.माइक रायनले कोरोनाविरुद्धको खोप पत्ता लाग्ने समयसम्म संसारभर कम्तिमा २० लाख मानिसले ज्यान गुमाइसक्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डब्ल्युएचओले कोरोना संक्रमणबाट जोगिनका लागि सबै देशले एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

डा।रायनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि खोप र उपचारमात्रै नभएर मानविय व्यवहार महत्वपूर्ण भएको तर्क गरेका छन् । उनले सबै देशका सरकारले कोरोना नियन्त्रणका लागि विशेष सतर्कता र कडाइका सबै उपायको अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन् ।

सन् २०१९ को अन्तिममा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म झण्डै १० लाख मानिसले ज्यान गुमाइसकेका छन् । ३ करोड २५ लाख मानिस संक्रमित भइसकेका छन् ।