सामाजिक सेवा दिवसमा नेप्सेम्याकद्धारा राहत वितरण

 

ललितपुर । सामाजिक सेवा दिवसका सन्दर्भमा नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)ले अपांगता भएका तथा असहाय परिवारलाई राहत वितरण गरेको छ ।

संस्थाका उपाध्यक्ष सरस्वती आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लक्षित वर्गलाई राहत वितरण गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहालले कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका कारण जिवन यापनमा समस्या सिर्जना भएकाहरुलाई नेप्सेम्याकले सानो सहयोग गरी कर्तव्य स्मरण गराएको बताउनुभयो ।

नेप्सेम्याकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी १२ परिवारलाई एक महिनालाई पुग्ने खाद्यसामग्री, दाल, चिनी, नुन लगायतका सामग्री वितरण गरेको छ ।

गैरसरकारी संस्था महासंघ ललितपुरको आह्वानमा सामाजिक सेवा दिवसको अवसरमा नेप्सेम्याकले कार्यक्रमको आयोजना गरी लक्षित वर्गलाई राहत सामग्री वितरण गरिएको नेप्सेम्याककी उपाध्यक्ष आचार्यले बताउनुभयो ।