अविरल वर्षाले ललितपुरमा बाढीको जोखिम, वागमती र महाँकाल गाउँपालिका सम्पर्क विच्छेद

 

ललितपुर । सोमबार रातीदेखि आएको अविरल वर्षातका कारण ललितपुरको दक्षिणी क्षेत्रमा बाढी पहिरोको जोखिम बढेको छ । पहिरोले वागमती गाउँपालिकामा ४ जना घाइते भएको भट्टेडाँडा प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण महाँकाल गाउँपालिकाको कालेश्वर, चन्दनपुर र ठूलादुर्लुंगमा सञ्चार सम्पर्क विच्छेद भएको छ भने त्यस क्षेत्रमा बाढीको समेत जोखिम बढेको छ ।
वागमती र महाँकाल गाउँपालिकामा बाढीको जोखिम बढेकाले सकेसम्म सुरक्षित स्थानमा बस्नका लागि जानकारी गराइएको जनप्रतिनिधिहरुले बताउनुभएको छ । जोखिममा परेकाहरुलाई हवाइ उद्धारका लागि समेत गृह मन्त्रालयमा समन्वय गरी हेलीकोप्टर तयारी अवस्थामा रहेको ललितपुर १ का सांसद नवराज सिलवालले जानकारी गराउनुभएको छ ।
मौसमको प्रतिकुलताका कारण बागमती गाउँपालिकामा उद्धार कठिनाइ भएको बताइएको छ ।