कित्ताकाट खोल्ने निर्णयको चौतर्फि असन्तुष्टि, मन्त्री अर्याल भूमाफियाको प्रभावमा परेको आरोप

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गरी जग्गा कित्ताकाट खुला गरेकोमा चौतर्फि असन्तुष्टि सहित विरोध जनाइएको छ । जग्गा कित्ताकाट सम्बन्धि निर्णयमा सत्तारुढ दलकै नेताहरु, भातृ संगठनले पनि विरोध जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नियमावली नबनेको अवस्थामा भूमि व्यवस्थामन्त्री अर्यालले मन्त्री स्तरीय निर्णयबाट कित्ताकाट खुला गर्ने निर्णय गर्नु गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

समिति सभापति पूर्णकुमारी सुवेदीले मन्त्री स्तरीय निर्णय गर्दा कानुन मिचेको बताउँदै २०७० सालदेखि भूमि कित्ताकाट गर्न रोक लगाइएको अवस्थालाई उपेक्षा गरिएको बताउनुभएको छ ।

मन्त्री अर्यालको यो निर्णय पार्टी नीति विपरित भएको सत्तारुढ नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभएको छ । अहिलेको राष्ट्रिय आवश्यकता र पार्टीको नीति जमीनको खण्डीकरण रोक्दै कृषि मार्फत समृद्ध नेपाल निर्माण गर्ने भएकोले कित्ताकाटको निर्णय नीति विपरित भएको बताउनुभएको छ ।
मन्त्रीको कित्ताकाटको निर्णय प्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल किसान महासंघले विज्ञप्ती नै निकालेर भू–माफियाहरुको प्रभावमा परी भएको निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेको छ ।

मन्त्रालयले यसअघि आफैले गरेको निर्णय उल्टाएर कृषि भूमिलाई गैरकृषि क्षेत्रमा कारोबार गर्न पाउने गरी कित्ताकाट हुन दिनु दुर्भाग्यपूर्ण भएको महासंघका केन्द्रीय सदस्यहरुले बताउनुभएको छ ।

मन्त्रालयको यस निर्णयबाट कृषि भूमिलाई गैरकृषि क्षेत्रमा लैजाने बाटो खुलेको र यसले किसानसँग सस्तोमा भूमि लिई महँगोमा बेच्ने पुरानै प्रवृतिलाई बढवा दिएको किसान नेताहरुले बताउनुभएको छ ।