अर्थमन्त्री फेरिने सम्भावनाले नेप्सेमा बृद्धि

 

काठमाडौं । मन्त्रीमण्डल हेरफेर र अर्थमन्त्री डा।युवराज खतिवडा अर्थमन्त्रीबाट विदा हुने सम्भावना बढेपछि नेप्से परिसूचक मंगलबार पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि सेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ९.३४ बिन्दुले बढेर एक हजार ४४०.९४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ ले वृद्धि भई २९८.९७ मा पुगेको छ । कूल १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर रु एक अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० मा खरिद बिक्री भएका छन् । लगातार शेयर बजार उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु १९ खर्ब बराबरको भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र भावी अर्थमन्त्रीका रुपमा सुरेन्द्र्र पाण्डे र विष्णु पौडेलको चर्चा चल्न थालेपछि शेयर कारोवारमा बृद्धि आएको शेयर कारोवारका विश्लेषकहरु बताउँछन् । अर्थमन्त्री खतिवडाको कार्यकालमा शेयर कारोवारमा निकै गिरावट आए पनि खतिवडाको कार्यकाल सकिनै लाग्दा कारोवारमा आशलाग्दो बृद्धि भएको बताइन्छ ।

खतिवडाको राट्रिय सभा सदस्यको कार्यकाल सकिने समयमा पनि नेप्सेमा बृद्धि भएको थियो । खतिवडालाई पुन अर्थमन्त्री नियुक्ति गरेपछि ६ महिनाभित्रमा संघीय संसदको सदस्य नबने स्वतः पदमुक्त हुने व्यवस्था छ । खतिवडाको कार्यकाल भदौ २१ गते सकिँदैछ । खतिवडा २०७६ फागुन २१ गते अर्थमन्त्री नियुक्त हुनुभएको हो ।