१३औँ सागको अनियमितता छानविन गर्न उपसमिति

 

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा भएको खरिद अनियमितता छानविन गर्न उप—समिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री गरिदमा भएको अनियमितता छानविन गर्न उप—समिति गठन गरेको हो ।

राखेप बोर्ड सदस्य गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानविन गर्नेछ । उपसमितिले ब्याडमिन्टन खेलका सामग्री खेलाडीहरुले समयमा नपाएको, प्राप्त खेल सामग्री गुणस्तरहीन रहेको भन्ने उजुरीमाथि छानविन गर्नेछ ।

उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्त बुझ्दो नभएको, कोटेसनअनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेको लगायतका विषयमा छानविन हुने बताउनुभयो ।

अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त भएकाले सोही विषयमा छानविन गरिने बताउनुभयो । अरु क्षेत्रबाट पनि खेलाडी प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खण्डमा राखेप र मन्त्रालायले छानविन गर्ने बताउनुभयो ।

उपसमितिमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासङ फिजिङ शेर्पा रहनुभएको छ ।

उप समितिले २१ दिनभित्र प्रतिवेदन राखेपलाई बुझाउने छ । नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि राजीनामा दिनुभएको छ ।

यसअघि, ब्याडमिन्टन खेलाडीहरुले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राखेपमा उजुरी निवदेन दर्ता गराएका थिए ।

सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागीता रहेको थियो । जसमा नेपालले ५ कास्य पदक जितेको थियो ।