किमद्धारा उत्तर कोरियाली सत्तारुढ दलको अधिवेसन आह्वान

 

काठमाडौं । उत्तर कोरियाका शासन किम जोङ उनले सत्तारुढ दल लेवर पार्टीको अधिवेसन आह्वान गर्नुभएको छ ।

पार्टीका सर्वोच्च नेता किमले केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशन आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । जुन अधिवेशन दुर्लभ (हुन मुस्किल) मानिन्छ ।

मुलुकका ‘नीतिगत’ कमजोरी तथा संयुक्त राष्ट्र संघको नाकाबन्दीका कारण ‘रुग्ण’ अर्थ व्यवस्था सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउने उघद्देश्यले उनले अधिवेशन आह्वान गरेको केसीएनले उल्लेख गरेको छ । यथाशीघ्र छिटो भनिएको उक्त अधिवेसन कहिले भन्ने उल्लेख नभएको एजेन्सीले जनाएको छ।

पार्टीको केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्दै उत्तर कोरियाली नागरिकको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको प्योङयाङ स्रोतले जनाएको छ ।

बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ ।

प्रतिबन्धित आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रम उत्तर कोरियामा किमको नेतृत्वमा तीव्र पारिएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अमेरिका, युरोपेली संघ (ईयू) र अन्य शक्तिले प्योङयाङलाई प्रतिबन्ध लगाएका छन् । एजेन्सी