आज हरितालिका तीज : कोरोनाले गर्दा व्रत र नाचगान घरमै सीमित

 

काठमाडौं । आज (शुक्रबार) हरितालिका तीज । हरितालिका तीजमा ब्रत बसेर महिलाहरु विहानैदेखि मन्दिर जाने चलन थियो । आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू नारीहरुले तीजलाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । आज हिन्दू नेपाली महिलाहरु घरमै परिवारका सदस्यसँग नाच गानसँगै ब्रत बसेका छन् ।
यसपाली कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण घरबाहिर हिँड्न समेत गाह्रो भएकाले महिलाहरुले घरकै तुलसी मठ वा अत्यन्तै नजिकको मन्दिर वा शिवालयमा गई दर्शन पूजा गरी हतार हतार घर फर्किएको देखिएको छ ।

पौराणिक कथनअनुसार पार्वतीले शिवजीलाई पति पाउँ भन्दै व्रत बसेको सम्झनामा आज हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् । विवाहित नारीहरु आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु एवं पारिवारिक सुख समृद्धिको कामनाका साथ व्रत बस्दछन् भने अविवाहिताहरु भने योग्य वर पाउँ भन्दै व्रत बस्ने मान्यता छ ।

निषेधाज्ञा र विभिन्न प्रकारका प्रतिबन्धले मन्दिर जान नपाए पनि महिलाहरुले भरमै नाचगान, भजन कीर्तन गर्दै उमंगका साथ भगवान शिवको प्रार्थना, पूजा गर्ने तयारी गरेका छन्। काठमाडौंस्थित पशुपतिनाथको मन्दिर परिसर यस वर्ष सुनसान छ ।

तर, घरमै परिवारका सदस्य जम्मा भएर नाचगान भने बिहानैदेखि सुरु भएको छ । नेपाली समाजमा तीज पर्वका अवसरमा गाइने गीतमा नारीहरुका व्यथा, परिवारमा पाएका दुःख र माइती तथा घरको सम्बन्धको बारेमा चित्रण पाइन्छ ।

तर, यसमा पछिल्लो समय केही विकृति आएको र तीजको गीतहरु भड्किलो बन्दै गएको भन्ने गुनासो पनि आउने गरेको छ । त्यस्ता गीतहरुको आलोचना पनि हुने गरेको छ ।

यस्तै तीजको दर खाने परम्पराको आधुनिकीकरणका नाममा केही हप्ता पहिलैदेखि भड्किलो रुपमा दर खाने प्रचलन हुन थालेको भन्दै संस्कृतिविद्हरुले त्यस्ता गतिविधिप्रति चिन्ता प्रकट गर्दै पनि आएका छन् ।