गौतम बुद्धलाई महान भारतीय भन्नु आपत्तिजनक: पूर्व प्रधानमन्त्री नेपाल

 

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई महान भारतीय भन्नु आपत्तिजनक भएको बताउनुभएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले ‘बुद्ध महान भारतीय’ भनि दिएको अभिव्यक्तिप्रति कडा आपति जनाउँदै नेता नेपालले यसबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर दिएको अभिव्यक्तिको समेत खण्डन गर्दै भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध र कुटनीतिक मर्यादा उल्लंघन गरेको बताउनुभएको छ ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्पष्ट रुपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध गर्दछु’ नेता नेपालले ट्वीटरमा लेख्नुभएको छ ।

‘एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ’ नेता नेपालले लेख्नुभएको छ ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै बेला बखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’