कोरोनाका कारण ‘भर्जुअल श्राद्ध’, ल्यापटप साथमा राखेर यसरी गरियो पितृकर्म

 

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण जनजीवनमा असर पर्दा मानिसका स्वभाव, व्यवहार र बानीहरु बदलिएका छन् । धेरै असजिलो र सजिलोहरुको अनुभव भईरहेको छ ।

कोरोना कहरकै सन्दर्भमा आज काठमाडौंको एउटा परिवारले पितृकर्मको रुपमा गरिने वार्षिक श्राद्ध गुरुको भर्चुअल उपस्थितिमा सम्पन्न गरेको छ । काठमाडौंको टोखा नगरपालिकामा बस्ने डा.प्रद्युम्न पाण्डे र डा.नम्रता पाण्डेको परिवारमा पुरोहितले ‘जुम’ मार्फत मन्त्रोच्चारण गरी श्राद्ध गरिएको पाण्डे परिवारले जनाएको छ ।

भीडभाड हुँदा कोरोना संकट बढ्ने खतरा भएकोले पितृ कर्मको लागि अनिवार्य जुट्नुपर्ने व्यक्तिहरु जुटेर प्रविधिको प्रयोगमार्फत संस्कृतिको निरन्तरता दिएको डा.नम्रता पाण्डेले बताउनुभयो ।

पुरोहित प्रकाश घिमिरेले अनलाइनमार्फत मन्त्रोच्चारण गर्नुभएको थियो भने डा.पाण्डे परिवारका यजमानहरुले श्राद्ध गर्नुभएको परिवारले जनाएको छ ।