भ्रष्टाचार विरुद्ध कडा अडान र अभिव्यक्ति दिने प्रेम सञ्जेलमाथि कुटपीट

 

विराटनगर । भ्रष्टाचार ढिलासुस्ती र अनियमितताविरुद्ध खरो अभिव्यक्ति दिने र अडान राख्ने उपसचिव प्रेम प्रसाद सञ्जेलमाथि कुटपीट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेललाई कार्यकक्षमै कुटपीट भएको हो । उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने दुबै जना करारका कर्मचारी हुन् । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन् । प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नुछ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।