पदको लागि छिनाझम्टी भएको हैन, विधि बसाउन खोजिएको हो : प्रचण्ड

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद पदको लागि छिनाझम्टी नभएर विधि बसाउन खोजिएको प्रष्ट्याउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तुलसीलाल अमात्यको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले विधि बस्दा अफ्ठेरो पर्ने सोचेकाहरुले पदका लागि छिनाझम्टी भनेर दुश्प्रचार गरेको बताउनुभयो ।

कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्ने भएकाले विधि र पद्दतीको पालना गराउनका लागि गरिएको बहस भएको बतााउनुभयो

संविधान जारी गर्ने समयमा, पार्टी एकताका लागि र चुनावपछिको अवसरका विषयमा स्मरण गर्दै प्रचण्डले भन्नुभयो ‘पार्टी भित्रको बहस अस्वस्थ हुँदा जनता र पार्टी कार्यकर्तामा नकरात्मक असर परेको छ । पद दिएर पार्टी एकता रोक्ने प्रयास भएको थियो । मैले भन्दा यो पदको लडाईँ होइन । प्रतिक्रियावादीलाई कम्युनिष्ट भन्ने नाम नै मन परेको छैन । पार्टी एकताबाट खुसी पनि छैनन् ।’

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दावी गर्दै प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने बताउनुभयो । प्रचण्डले भन्नुभयो -‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नूको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्तिलाई परास्त हुन्छ, गरिनेछ । बसहले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।’

नेपाली कम्युनिष्ट आन्दोलनका नेता अमात्यको २०५४ साल साउन १७ गते देहान्त भएको थियो । तुलसीलाल अमात्य प्रतिष्ठानले हरेक वर्ष साउन १७ गते स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।