सुनको भाउमा नयाँ रेकर्ड, तोलाको झण्डै एक लाख रुपैयाँ

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम राखेको छ। विगत १० दिन यता सुनको भाउले निरन्तर नयाँ रेकर्ड कायम राखेकोमा शुक्रबार तोलाको ३ सयले बढेर ९९ हजार तीन सय रुपैंया पुगेको सुनचाँदी ब्यवसायी संघले जनाएको छ । यो दर हालसम्मकै उच्च हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको व्यवसायी संघको अनुमान छ ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ भने आज पनि तोलाको २५ रुपैंयाले घटेर १२ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

सुरक्षित लगानीको रुपमा लिइने सुन विश्वबजार अस्थिर हुने संकेत मिल्नेवित्तिकै भाउ बढ्ने गर्छ । कोरोना भाइरसको महामारीका विच अन्तराष्ट्रिय अर्थतन्त्र कमजोर भैरहेको अवस्थामा पछिल्लो समय इरान अमेरिकाको सम्बन्ध थप तनावपूर्ण भएको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ उच्च रहेको छ । केहीदिन अगाडीमात्र इरानले अमेरिकी युद्धपोतको डमीलाई हर्मुजको खाडीमा छेप्यात्र प्रहार गरी ध्वस्त गरेको थियो ।

अन्तराष्ट्रिय गतिविधीको कारणले सुनको भाउमा उतारचढाव हुने भएपनि त्यस्को प्रत्यक्ष प्रभाव नेपाली सुनचाँदी बजारमा पर्दै आएको छ । निर्यातको मात्र भर पर्नुपर्ने सुनको भाउ यसरी बढ्दै जाँदा ब्यवसायमा मन्दी आएको सुनचाँदी ब्यवसायीहरु बताउँछन् ।