कोरोना बढेसंगै अन्तर जिल्ला लकडाउनः उपत्यका प्रवेशमा कडा व्यवस्था (विज्ञप्तिसहित)

 

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसंगै गह मन्त्रालयले अन्तरजिल्ला आवागमन पूर्णरुपमा बन्द गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरेर अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन दिएको गृहमन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड-१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना पोजेटिभ फेला परेको भन्दै नाकाहरुको आवागमनमा पूर्ण निगरानी राख्न र अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानी बाहेक आजैदेखि लागू हुनेगरी हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुको आवागन पूर्णरुपमा बन्द गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।