ओलीको विकल्प छैन, ५ वर्ष प्रधानमन्त्री दिनैपर्छ : उद्योगमन्त्री भट्ट

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नभएको बताउनुभएको छ । भट्टले ५ वर्ष ढुक्कले प्रधानमन्त्री ओलीलाई दिनुपर्ने बताउनुभयो ।

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बीचमा सहमति बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

रिपोर्टर्स क्लवमा आज भएको कार्यक्रममा बोल्दै भट्टले स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । बहुमत स्थायी समिति सदस्यहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका वेला भट्टले यस्तो धारणा राख्नुभएको हो ।

पार्टीको एकता महाधिवेशन सहमतिमै हुने उल्लेख गर्दै भट्टले नेतृत्व समेत सहमतिमै टुंगो लाग्ने बताउनुभएको छ ।