एमसीसी पास गरे टाउको काटिन्छ भनेर धम्की आयो : मन्त्री भट्ट

 

काठमाडौँ । सरकारका एकजना प्रभावशाली मन्त्री लेखराज भट्टलाई एमसीसी पास गरे टाउको काटिन्छ भनेर धम्की आएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले विवादित अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका विषयमा आफूलाई धम्की आएको बताउनुभएको हो ।

बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा एमसीसी सम्झौता पास गरे जे पनि हुन सक्ने भन्दै आफूलाई धम्की आएको बताउनुभयो। ‘एमसीसीलाई लिएर मलाई बझाङबाट फोन गरेर धम्की आएको छ । बझाङबाट एक जना भाइले फोन गरेर एमसीसी पास गरे तेरो टाउको काटिन्छ भन्यो ।

मैले एमसीसी सम्झौता पढेर भन्या हो कि त्यत्तिकै भन्दैछौ भनेर सोध्दा एमसीसी पढ्ने काम मेरो होइन, तेरो हो भन्यो । भाषा यही थियो ।’ भट्टले समिति वैठकमा भन्नुभयो ।समितिको बैठकमा अरु सांसदले पनि एमसीसी पास गरे जे पनि हुन सक्ने भन्दै आफूहरुलाई धम्की आएको बताउनुभएको छ । एमसीसी सम्झौता संसद्मा विचाराधिन अवस्थामा रहेको छ ।

नेपालले एमसीसीसँग सन् २०१७ सेप्टेम्बरमा करिब ५५ अर्ब रुपैयाँ अनुदानको परियोजना निर्माण गर्ने सम्झौता भएको थियो । नेपालले सम्झौतालाई सबै प्रक्रिया पूरा गरेर ०७७ असार १६ गतेबाट कार्यान्वयनमा लाने प्रतिबद्धता जनाएको थियो । तर सत्तारूढ नेकपाको आन्तरिक विवादका कारण कार्यान्वयन सुरु हुने मिति गुज्रिसक्दा पनि सम्झौता संघीय संसद्बाट अनुमोदन गर्ने प्रक्रिया अघि बढेकै छैन ।