मनसुन कायमै, डुबान र पहिरो जोखिमयुक्त स्थानमा सजग रहन आग्रह

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन कायमै रहेकाले देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । विभनगले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको छ।

मनसुनका कारण हुने वर्षातले होचो र निकास नभएको स्थानमा डुबान हुन सक्ने र पहिरोको सम्भावित क्षेत्र तथा भिरालो स्थानमा पहिरो खस्न सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ । दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यसैगरी आगामी २४ घण्टा देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएका स्थानमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।