म ओलीको पक्षमा लागेको होइन : मणि थापा

 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले आफू केपी ओलीको पक्षमा नलागेको बताउनुभएको छ । थापाले आफू प्रचण्डको वा अरु कोही नेताको व्यक्तिगत पक्षमा पनि नरहेको प्रष्ट पार्नुभएको हो ।

पूर्व माओवादी खेमाका नेता थापा पछिल्लो समय प्रचण्ड समूह छाडेर केपी ओलीको पक्षमा लागेको चर्चा चलिरहेको बेला बुधबार यस्तो प्रष्टीकरण दिनुभएको हो । प्रचण्डको अध्यक्षतामा वालुवाटारमा भएको स्थायी कमिटि वैठकमा सहभागी नभएपछि थापाले प्रचण्ड समूह छाडेर ओली समूहमा प्रवेश गरेको चर्चा चुलिएको थियो ।

थापाले आफू पार्टी एकताको पक्षमा लागेको प्रष्ट पार्दै भन्नजुभयो ‘म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’

थापाले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुटफुट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएकोमा विश्वस्त हुन आग्रह गर्नुभएको छ ।
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको पनि थापाले बताउनुभयो ।