भड्किलो तीज मनाए कार्वाही, यस्तो छ प्रशासनको एक्सन

 

नेपाली महिलाहरुको पवित्र चाड तीज । तर तीजको सांस्कृतिक तथा धार्मिक महत्व भन्दा बढी प्रचार, चर्चा र प्रचार अनि प्रतिष्पर्धा देखासिकी र धान्नै नसकिने तडकभडक । यस्ता विकृतिले गाँजेको तीजलाई सांस्कृतिक सुधार गर्न जिल्ला प्रशासन कास्कीले एक्सन लिएको छ ।

तीजलाई मौलिक एवं परम्परागत रुपमा मनाउनुपर्छ भनी पोखराका महिला अधिकारकर्मीहरुले संगठित रुपमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएपछि प्रशासनले एक्सन लिएको  नारी जागरण अभियान कास्कीकी अध्यक्ष अञ्जु क्षेत्रीले बताउनुभयो ।

महिनौं अघिदेखि तीजका नाममा तडकभडक सुरु भएको भन्दै त्यसलाई रोक्न माग गर्दै गण्डकीका मुख्यमन्त्री, पोखरा महानगरका मेयर र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएपछि कास्की प्रशासनले भने जिल्लाभर तडकभडक, ध्वनि प्रदूषण र फजुल खर्च गरी समाजको सहनशीलता र मौलिक परम्परा विपरीत गतिविधि नगर्न सूचना प्रकाशन गरेको छ भने उल्लंघन गर्नेलाई कारवाही गर्ने जनाएको छ ।

टिकट छापेर पार्टी खाने, होटलमा सांगीतिक कार्यक्रम गर्ने, गहना प्रदर्शन, भोजभतेर गर्ने गर्दा हिन्दू नारीहरुको पर्वको मौलिकतामाथि नै प्रश्न उठेकाले यस्ता गतिविधि गर्नेहरुलाई कारवाही गरिने प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । kaski