पिपल पुजा गरेरै सोमबारे औंशीको साधक धोविनीले जब यस्तो चमत्कार गरिन्

 

सोमबार पर्ने औंशीलाई सोमबारे औंशी भनिन्छ । पूर्वीय संस्कृति र ज्योतिष विज्ञानले सोमबारे औंशीलाई विशेष महत्वको दिनको रुपमा लिइन्छ । पञ्चतत्वको शरीरलाई ज्यातिष विज्ञानअनुसार ग्रह अनुसार सन्तुलन राख्नुपर्छ । त्यसैले यस्ता विशेष दिनहरुमा खानपान, व्यवहार आदिले तन, मन मस्तिष्कमा विशेष असर राख्छ र हाम्रो दैनिक जीवन यापनमा असर पार्छ । यहाँ यही सोमबारे औंशी सम्बन्धि एउटा लोककथा प्रस्तुत गर्दछौं ।

सोमबारे औँशी व्रत कथा
सोमबारको र अमावश्या तिथीको एकै दिनमा पर्ने संयोगको दिनलाई सोमबारे औँशी भन्ने गरीन्छ । यो योग लगभग वर्ष दिनमा एकपटक पर्ने गर्दछ । हाम्रो वैदिक सनातन सँस्कृतिमा यो दिनको विशेष महत्व रहेको छ । यो दिन दानपुण्यको लागी अत्यन्त महत्वपूर्ण दिन मानिन्छ । आफ्नो सम्पूर्ण मनोकामनाको प्राप्ती र विशेष गरेर पितृ उद्धार को लागी सोमबारे औँशी महत्वपूर्ण मानिन्छ । महिलाहरुले पनि यो दिन विशेष गरेर आफ्नो सौभाग्य वृद्धिको लागी यो व्रत तथा पूजाका कार्यहरु गर्ने गर्दछन् । सोमबारे औँशीको एउटा रोचक पक्ष यो दिन बिहान स्नान गर्दा नबोलिकन स्नान गर्नुपर्छ भन्ने रहेको छ । तत् पश्चात् आफ्नो नित्यकर्म सकेर १०८ पटक पिपलको वृक्षको परिक्रमा गर्नाले अनन्त गुणा फल प्राप्त हुन्छ भन्ने शास्त्रिय मान्यता रहेको छ ।

कुनै समयको कुरा हो एउटा नगरमा एक जना व्यापारी आफ्ना परिवारका साथ बस्दथे । उनको परिवारमा एउटी छोरी पनि थिइन् । एक दिन उनको घरमा एकजना भिक्षुक भिक्षा माग्नको लागि आए, ती व्यापारीको छोरी ती भिक्षुकलाई भिक्षा दिनको लागि भिक्षा लिएर गइन् तर ती भिक्षुकले ती कन्याले दिएको भिक्षा लिन मानेनन् र भने कि तँ जस्तो अभागीले दिएको भिक्षा ग्रहण गर्दिन । आफूलाई अभागी भनेको बारम्बार सम्झदै ती व्यापारी कि छोरी चिन्ता गर्न लागिन् र दिनानुदिन दुब्लाउँदै गईन् ।

एकदिन आफ्नो छोरी दुब्लाउँदै गएको देखेर ती व्यापारीको श्रीमतीले आफ्नी छोरीलाई भनिन् कि हे छारी , तँ यत्रो सुखसुविधालाई पाएर पनि किन दुब्लाउँदै गएको भन् तेरो मनमा के पीडा छ रु आफ्नो आमाको प्रश्नलाई सुनेर ती कन्याले भिक्षुकले भनेको सम्पूर्ण कुराहरु बताइन् । अर्को दिन ती भिक्षुक आएको बेलामा ती कन्याको आमाले अभागी भन्नुको कारण र वैधव्य योग शान्तीको उपाय सोधिन् तब ती भिक्षुको सल्लाह अनुसार ती कन्याको आमा छोरी नै समुद्रपारि बस्ने पतिव्रता सोना धोविनीको सेवाको लागि त्याहाँबाट प्रस्थान गरे । जाँदा जाँदा बाटोमा समुुद्र आइपुग्यो , समुद्रको किनारमा एउटा रुखको आश्रयमा एक जोडी हाँस बस्दथे । तर एउटा सर्प त्यो हाँसको सबै अण्डाहरु खाने गर्दथ्यो । यो अण्डा कसले सँधै नाश गर्दछ भन्ने कुरा ती हाँसका जोडीले थाहा पाउन सकेका थिएनन्, त्यो दिन पनि सदा झैँ त्यो सर्प ती हाँसका अण्डा र बच्चाहरु खान आयो परन्तु सर्पको त्यो चाललाई देखेर ती आमाछोरीले त्यो सर्पलाई मारिदिए । तब ती आमा छोरीको कार्यलाई देखेर खुशी भएका हाँसका जोडीले आशिर्वाद दिँदै समुद्र पार गरिदिए । तत्पश्चात् ती आमा छोरी सोना नाम गरेको धोविनीको घरमा गएर उसले थाहा नपाउने गरी सेवा गर्न थाले ।

जब ती सोना धोविनीले उनीहरुको यो कार्यलाइ थाहा पाइन् तब उनीहरुलाई सम्पूर्ण वृत्तान्त सोधिन् । उनीहरुको कुरालाई सुनेर सोना धोविनीले पनि उनीहरुलाइ सान्त्वना दिँदै भनिन् कि छारीको विवाहको दिन मलाई खवर गर्नु म अवश्य आउनेछु । धोविनीको कुरा लाई सुनेर खुशी हुँदै ती आमा छोरी आफ्नो घर फर्के । ती व्यापारीले पनि आफ्नो छोरीको विवाहको तयारी गरे । तब ती कन्याको आमाले ती सोना धोविनीलाई खवर गरिन् ,खवर पाएर ती सोना धोविनी पनि आफ्नो घरमा म घरमा नआएसम्म कसैले पनि केही नगर्नु भनेर अह्राएर विवाहमा भाग लिन आइन् । विवाहको बेलामा एउटा सर्प आएर बेहुलालाई टोकिदियो बेहुलाको मृत्यु भयो । सबै रोइकराइ गर्न लागे तव सोना धोविनी गएर आफुले गरेको सोमबारे औँशीको व्रतको सहारा लिएर आफ्नो सिउँदोको सिन्दुुर र गाजल अलिकति झीकेर बेहुलाको शरिरमा छर्किदिइन् र बेहुलालाई जीवित गरिदिइन् । सबै जना खुशी भए, विवाह समाप्ति पश्चात् सोना धोविनी पनि विदा मागेर आफ्नो घर फर्किन् ।

बाटोमा फर्कँदा फर्कदै एउटा पिपलको वृक्षको समिपमा पुग्दा रात पनि पर्यो । सँयोगले त्यो दिन पनि सोमबारे औँशी परेकोले ती धोविनीले पिपलको वृक्षको १०८ पटक परिक्रमा गरेर पूजन गरिन् । जब घर पुगिन् तब उनको पतिको मृत्यु भइसकेको थियो सबै बन्धुबान्धवहरु रुवावासी गरेर बसिरहेका थिए तब ती धोविनीले सबै सान्त्वना दिँदै बाटोमा गरेको सोमबारे औँशीको व्रतको प्रभावले पुनः जीवित गराइदिइन् । तब उनले गरेको सोमबारे औँशीको व्रतको प्रभावलाई देखेर सबैले सोमबारे औँशीको महिमा लाई मुक्तकण्ठले प्रशंसा गरे