यज्ञमा हवन गर्दा किन स्वाहा भनिन्छ ?

 
हिन्दु धर्ममा पूजापाठ र हवनयज्ञको विशेष महत्व छ । कुनै पनि शुभ कार्यमा हवन गर्नु आवश्यक मानिन्छ । हवन गर्दा ‘स्वाहा’ शब्द उच्चारण गरिन्छ । किन यसो गरिएको हो ? आउनुस् यसको चर्चा गरौं ।

वैदिक कालदेखि नै आहुतिका बेला स्वाहा उच्चारण गरिन्थ्यो । ऋग्वैदिक कालमा मनुष्य र देवताहरूको माध्यमका रूपमा अग्निलाई छानिएको थियो । अग्निको तेजमा सबै कुरा पवित्र हुन्छ र देवताहरूलाई समर्पित वस्तु हवनको अग्निमा चढाउँदा उनीहरूकहाँ पुग्छ भन्ने विश्वास छ । तर स्वाहा भनेपछि मात्र देवताकहाँ सामग्री पुग्न सम्भव हुन्छ ।

निरुक्तमा स्वाहाको अर्थ हुन्छ सही रीतिबाट पुयाउनु । आवश्यक भौगिक पदार्थ प्रिय देवतासम्म पु-याउने कामलाई स्वाहा भनिन्छ ।

कुनै पनि हवन र अनुष्ठानको उद्देश्य हवन सामग्री देवताले ग्रहण गरून् भन्ने हो । स्वाहा उच्चारण गरेर यज्ञमा भोग चढाउँदा देवताले पाउँछन् ।
अग्नि र स्वाहाका सम्बन्धमा विभिन्न रोचक पौराणिक कथाहरू उपलब्ध छन् । स्वाहा दक्षप्रजापतिकी पुत्री थिइन् र उनको विवाह अग्निदेवसँग भएको थियो । अग्निदेवलाई हविष्यवाहक भनी भनिन्छ । अग्निदेव आफ्नी पत्नी स्वाहाको माध्यमले हवन ग्रहण गर्नुहुन्छ र उहाँको माध्यमबाट देवताहरूले हवन सामग्री ग्रहण गर्छन् ।

स्वाहालाई प्रकृतिको एक कला मानिन्छ र देवताहरूको आग्रह अनुसार उनको विवाह अग्निदेवसँग भएको मान्यता राखिन्छ । केवल उनको माध्यमबाट देवताहरूले हवन सामग्री ग्रहण गर्न सक्छन् भनी भगवान् श्रीकृष्णले स्वाहालाई वरदान दिनुभएको थियो ।

सबै वैदिक तथा पौराणिक विधान अग्निलाई समर्पित मन्त्रोच्चारण तथा स्वाहाद्वारा हवन सामग्रीलाई देवतासम्म पु-याउने कुरालाई पुष्टि गर्छन् ।