को होला राखेपको सदस्य सचिव ? रमेश सिलवाल सहित २५ जनाको आवेदन

 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश कुमार सिलवाल सहित २५ जनाको आवेदन परेको छ । नयाँ खेलकुद ऐन आए लगत्तै पदमुक्त हुनुभएका सिलवालले पुन आवेदन दिएसंगै सदस्य सचिवमा सिलवाल दोहोरिने सम्भावना धेरै भएको खेल तथा राजनीति क्षेत्रकाहरुले अनुमान गरिसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को २२ औं सदस्य सचिवका असार २६ गते शुक्रबार दरखास्त आह्वान गरिएपछि तोकिएको म्याद अवधि अर्थात् बिहीबार ३ बजेसम्म २५ आवेदन परेको युवा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको छ ।

आवेदन दिने म्याद आज ५ बजेसम्म रहेकोमा ३ महिलासहित कुल २५ जनाले दरखास्त आवेदन दिएका हुन् । दरखास्त दिनेमा खेल क्षेत्रका व्यक्तिसँगै राजनीतिक पृष्ठभूमिका समेत छन् ।

आवेदन दिनेमा रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, लिल बहादुर थापा, रवि राजकर्णिकार, अच्युत लामिछाने, निलम बज्राचार्य, रमेश कुमार सिलवाल, मेघराज पौडेल, अन्जु श्रेष्ठ, मानबहादुर गुरुङ, विजय राई, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, तेज घले, ध्रुव न्यौपाने लगायत रहेका छन् ।

आवेदन प्रक्रिया पूरा भएसँगै सम्भवतः अर्को साता बस्ने मन्त्रिपरिषद् बैठकले सदस्यसचिवमा एक जनालाई नियुक्त गर्नेछ । नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभनेको हुनुपर्ने उल्लेख छ ।

चार वर्षका लागि नियुक्त भए पनि नयाँ ऐनका कारण पदमुक्त भएका सिलवाल प्रधानमन्त्रीसंग विशेष निकट सम्बन्ध भएका कारण पुन नियुक्ति हुने सम्भावना छ ।