जनयुद्धको योजना बनेको त्यो ऐतिहासिक घर

 

काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले जनयुद्धको योजना ललितपुरस्थित नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको घरमा भएको बताउनुभयो । कर्माचार्यको स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कर्माचार्यमा अवसरवादका कुनै पनि गन्ध नभएको पनि बताउनुभयो ।

००६ सालमा नेकपा स्थापना गर्दाताकाका संस्थापकमध्येका एक नेता नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले कर्माचार्य निवासमा बनेको योजनाकै एउटा रुप पार्टी एकता भएको बताउनुभयो ।

‘नरबहादुर कर्माचार्य जीवनभर आफूलाई कम्युनिस्ट आन्दोलनकोनिम्ति समर्पित गर्नुभयो, माक्र्सवादी सिद्धान्तमा उभ्याइराख्नुभयो । कुनै खाले बिचलनतिर सोच्नुभएन । बैचारिक र आन्दोलनप्रतिको निष्ठा र निरन्तरता कर्माचार्यको बिशेषता हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । अध्यक्ष प्रचण्डका अनुसार कर्माचार्यले जीवनभर अवसरवादलाई परास्त गर्नुभयो । ‘अवसरवादको कुनै गन्ध नभएको नेता हुनुहुन्थ्यो नरबहादुर कर्माचार्य । अहिले धेरै खालका बिसंगतिहरु, बिकृतिहरु देख्न सकिन्छ अहिल कम्युनिष्ट आन्दोलनभित्रै । तर कमरेड नरबहादुर कर्माचार्य ती सवैबाट माथि हुनुहुन्थ्यो,’ प्रचण्डले भन्नुभयो ।

‘पार्टी एकतालाई अझ सुदृढ गर्नु हो कर्माचार्यलाई सम्झनु भनेको । जिम्मेवारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउन जरुरुी छ,’ प्रचण्डको भनाई थियो । प्रचण्डले झण्डै ६/७ बर्ष नरबहादुर कर्माचार्यकै अभिभावकत्वमा बसेको खुलासासमेत गर्नुभयो । ‘जनयुद्धको सम्पुर्ण तयारी नरबहादुर कर्माचार्यकै घरबाट गरेको हो, अव यो युद्धमा हाम फाल्यो भन्ने जानकारी र मारिन्छन कि भन्ने चिन्ता पनि उहाँले गर्नुभएको थियो,’ प्रचण्डले भन्नुभयो ।