सिलवाल स्वतः पदमुक्त, नयाँ ऐन अनुसार राखेप सदस्य सचिव नियुक्त गरिने

 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको छ । नयाँ खेलकुद विकास ऐन गत बिहीबारबाट लागू भएसंगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गर्ने बाटो खुलेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ ऐन अनुसार राखेप सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढ्ने बताउँदै ऐन प्रमाणीकरण भएसंगै साविक सदस्यसचिव स्वतः पदमुक्त हुने व्यवस्था भएकोले नयाँ नियक्तिको प्रक्रिया सुरु हुने बताउनुभयो । खेलकुद ऐन २०४८ अनुसार भए गरेका काम कारवाही नयाँ ऐन अनुसार भएको मानिने नयाँ खेलकुद विकास ऐनमा उल्लेख छ । तर पदाधिकारी नियुक्तिको हकमा सो लागु नहुने कानुन बिज्ञबाट मन्त्रालयलाई राय आएको छ ।

खेलकुद विकास ऐन २०४८ बिहीबारबाट निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल कार्यालय आउन छाडेको परिषद् स्रोतले बताएको छ ।

नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिले योग्यता पुरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिका लागि एक जना महिला सहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषदमा पेश गर्नेछ । जसअनुसार मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ ।

नयाँ ऐन अनुसार सदस्य सचिव हुन नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको, खेलकुद क्षेत्रमा कम्तीमा ५ बर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र तीस बर्ष उमेर पुरा भएको योग्यता राखिएको छ ।

मन्त्रालयका अनुसार नयाँ ऐन लागु भएसंगै सदस्य सचिव सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समेत समाप्त भएको छ ।

मन्त्रालयले विधेयक निर्माणको क्रममा राखेपका वर्तमान पदाधिकारीलाई कार्यकाल पुरा गर्न पाउने गरि ऐनमा व्यवस्था गरेको थियो । खेलकुद मन्त्री विश्वकर्माले समेत बहालवाला पदाधिकारीले आफ्नो कार्यकाल पुरा गर्न पाउने गरि ऐनमा व्यवस्था गरिएको बताएका थिए ।

तर राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएको विधेयकमा स्पष्ट रुपमा वर्तमान पदाधिकारीको निरन्तरताको बिषय उल्लेख गरिएको छैन । सोही अनुसार राखेपका सम्पुर्ण पदाधिकारीहरु नयाँ नियुक्तिबाट आउने भएका हुन् ।