निजामती कर्मचारीलाई आन्तरिक बढुवा र ट्रेड युनीयन अधिकार दिइनुपर्छ: सिलवाल

 

ललितपुर । प्रतिनिधि सभा सदस्य नवराज सिलवालले निजामती कर्मचारीलाई ट्रेड युनीयन अधिकार, आन्तरिक बढुवा लगायतका अधिकारहरु दिइनुपर्ने पक्षमा फरक मत राख्नुभएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती विधेयक बहुमतले पारित हुँदा विभिन्न ७ विषयमा सिलवालले फरक मत लेख्नुभएको छ । समितिमा नेकपा भित्रका पूर्व माओवादी र नेपाली काँग्रेस निकट सांसदहरुको बहुमतले विधेयक पारित हुँदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै केही सांसदहरुले फरक मत दर्ज गर्नुभएको छ ।

फरक मत दर्ज गर्नुहुने मध्ये सांसद नवराज सिलवालले कर्मचारीहरुलाई बढ्ता नियन्त्रण गर्ने ऐन बनाएर राम्रो काम गर्न नसकिने बताउँदै कर्मचारीहरुलाई रिझाएर काम गर्नुपर्ने तर्क सहित फरक मत दर्ज गर्नुभएको छ ।

निजामती कर्मचारीहरुलाई पेशागत अधिकार सहित ट्रेड युनीयनमा सदस्य बन्न पाउने, नेतृत्व गर्ने र ट्रेड युनीयन अधिकार दिइनुपर्ने पक्षमा फरक मत राख्नुभएको छ । सिलवालले भन्नुभयो गणतन्त्रमा कसैले पाईरहेको ट्रेड युनीयन अधिकार खोस्नुपर्छ भन्ने मत राख्न सकिन्नँ ।

निजामती सेवामा भएको आरक्षणलाई ५५/४५ को अनुपातमै राख्नुपर्ने पक्षमा सिलवालको फरक मत रहेको छ । यस्तै सिलवालले प्रदेशका सचिव र स्थानीय तहका कार्यकारी प्रमुखको परिचालनको काम संघीय सरकारलाई हुनुपर्ने पक्षमा मत जाहेर गर्नुभएको छ । प्रशासन संयन्त्रलाई चेन अफ कमाण्डमा राख्नका लागि र सुव्यवस्थित कर्मचारी संयन्त्र निर्माणका लागि पनि यो व्यवस्था आवश्यक भएको सिलवालको जोड रहेको छ ।

सांसद सिलवालले नासुहरुलाई बढुवा गर्ने व्यवस्थाका सन्दर्भमा पनि फरक मत राख्नुभएको छ । विद्यमान व्यवस्थाअनुसार कार्यसम्पादन मूल्यांकन अनुसार आन्तरिक बढुवा गरी नासुलाई अधिकृत हुन पाउने व्यवस्था कटौती गर्न नहुने पक्षमा सिलवालले फरक मत नै लेख्नुभएको छ ।

परराष्ट्र सेवाका कर्मचारीहरु विदेश अध्ययन वा तालिममा गएका समयको बरिष्ठताका सन्दर्भमा पनि तल्लो तहका कर्मचारी मर्कामा परिरहेकाले तल्लो तहका कर्मचारीहरुलाई तालिममा गएको समयको बरिष्ठता कायम हुनुपर्ने पक्षमा फरक मत राख्नुभएको छ ।

सांसद सिलवालले समायोजनमा स्थानीय तहमा गएका कर्मचारीहरुलाई मापदण्ड, सर्त राखेर भए पनि संघ वा प्रदेशमा जान पाउने व्यवस्था राख्नुपर्ने पक्षमा सिलवालले फरक मत राख्नुभएको छ ।