असार १५ ले सम्झाउने रोपाइका केही चर्चित र विवादित तस्विर

 

ललितपुर । असार १५ राष्ट्रिय धान दिवस । प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ र सुकिलामुकिलाहरु खेतको हिलोमा ओर्लेर फोटो सेसन गराएर धान दिवस मनाउने दिनका रुपमा पछिल्ला केही वर्ष धान दिवस बढी चर्चित छ ।

धान दिवस कतिलाई रमाइलो छ त कतिलाई बाध्यता । विशेष गरी राजनीतिक नेतृत्वमा भएकाहरुले यसलाई झन्झटकै रुपमा लिएको पनि केही तस्विरहरुले देखाउने गरेको छ ।
धान दिवस यसको औचित्य सहित चर्चामा आउनुभन्दा स्टण्टकै कारण चर्चामा आउने गरेको छ । हरेक वर्ष केही तस्विरहरु एकाएक ट्रोल बन्छन् असार १५ मा । केही वर्ष धान दिवस मनाउने नाममा विभागीय मन्त्रीहरु विवादमा परे । सबैभन्दा बढी चर्चामा रह्यो तत्कालीन कृषिमन्त्री हरि पराजुलीको रोपाई ।

प्रस्तुत केही तस्विरहरुमा देख्न सकिन्छ रोपाइको रहर र बाध्यता । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको यो तस्विरले बडो बाध्यताका साथ खेतमा ओर्लिएजस्तो देखिन्छ । देउवाले विउको मुठो नै रोप्नुभएपछि सामाजिक सञ्जालमा ट्रोल हुनुभएको थियो ।

पूर्व प्रधानमन्त्री तथा समाजवादी जनता पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले भने बडो रहरका साथ गोरु साउने काम गरेको देखिन्छ । भट्टराईले विगतकै फोटो पोष्ट गरेर धान दिवसको शुभकामना पनि दिनुभएको छ ।

पूर्वमन्त्री हरिवोल गजुरेलले आफू मन्त्री भएकै बेला गमलामा धान रोपेर धान दिवसको उद्घाटन गर्नुभयो । जुन फोटो लामो समय सम्म विवादित बनिरह्यो । गजुरेल चर्चामा आएका अरु राजनीतिक प्रसंगहरुमा समेत गमलामा धान रोपेको फोटो ट्रोल बन्ने गरेको छ ।

मोडल रितिका जिरेलले धानको बिउले आफ्ना संवेदनशील अंग छोप्दै फोटो सुट गराएसंगै रोपाइको रहर उदांगियो । यो फोटोको विवाद संगै चर्चा पनि उस्तै आयो तर मोडल रिजालले धानको महत्व दर्शाउनै त्यसरी फोटो खिचिएको प्रष्ट्याउनुपर्यो ।

तर कृषिमन्त्री चक्रपाणी खनाल, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, नेकपाका नेता ईश्वर पोखरेलका फोटाहरु भने चर्चामा आए विवादमा तानिएनन् ।