श्रमजीवी पत्रकारका समस्या समाधानका लागि पहल गरिदिन १० सञ्चार संगठनद्धारा सरकारलाई आग्रह

 

ललितपुर । कोभिड–१९ (कोरोना भाइरस)को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार÷सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका समस्या समाधानमा पहल गरिदिन सञ्चार संगठनहरुले सरकारसंग आग्रह गरेका छन् ।

आइतबार प्रेस संगठन नेपाल, प्रेस युनीयन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस नेपाल, जनपत्रकार संगठन, मधेसी पत्रकार समाज लगायतका १० संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अल्टिमेटमसहित सञ्चार गृहहरुमा पत्रचार गर्ने तथा सरोकारवाला संगठनहरुसँग बृहत छलफल गरी दवावमुलक कार्यक्रममार्फत् श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिएको जनाएका छन् ।

महासंघकै नेतृत्वमा थप दबाबमूलक कार्यक्रमको घोषणा गरी श्रमजीवी पत्रकार साथीहरुको पेशागत सुरक्षाको सुनिश्चिताका लागि ठोस पहल गर्न सहयोग पुग्ने ठहर गरी संयुक्त वक्तव्य जारी गरेको पनि जनाइएको छ ।

दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न सरकारसंग माग गरिएको छ । महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि माग गरिएको प्रेस संगठनका संयोजक महेश्वर दाहालले बताउनुभएको छ ।

श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दवाव दिन बाध्य हुने जनाउँदै त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय हुने लोकतान्त्रिक छापा माध्यमहरुको संजालका अध्यक्ष दामोदरप्रसाद दवाडीले बताउनुभयो ।