कार्यसम्पादन राम्रो नहुने कर्मचारीले बाटो खोलिनुस् नत्र विनम्रतापूर्व हटाइन्छ : पर्यटनमन्त्री भट्टराई

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कार्यसम्पादन कमजोर हुने कर्मचारीले आफैंले जानेर बाटो खोलीदिन आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिने क्रममा मन्त्री भट्टराईले कमजोर कार्यसम्पादन भएर पनि जिम्मेवारी ओगटीरहने कर्मचारीहरुलाई विनम्रतापूर्वक हटाइने बताउनुभएको छ ।

एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफैँ सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गर्नुभयो ।

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भट्टराईले भन्ननुभयो, “तपाईहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भएरनभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।”

भट्टराईले कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेष्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा/निकाय प्रमुखलाई निर्देशन दिनुभयो ।

पर्यटन मन्त्रालय मातहतका राष्ट्रिय गौरवका भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति विकास कोष र लुम्बिनी विकास कोषको विकास तीब्र रुपमा गरेर जनताको भरोसा गुम्न नदिने विश्वास व्यक्त गर्नुभयो ।